Print

पर्वतका उत्तरी गाविसमा लगाएको भुईस्याउले बजार नपाउँदा बारिमै कुहिँदै

१६ फगुन, पर्वत । गतिलो आम्दानीको गतिलो स्रोत भन्दै उत्तरी पर्वतका कृषहरुले सुरु गरेको भुईस्याउ खेतीले बजार नपाएपछि कृषकहरु चिन्तित बनेकाछन् । विगतका वर्षहरुमा देशका मुख्य शहरका साथै कोरियामा समेत निर्यात भएको भुईस्याउ गत वर्षदेखि विक्रि नहुँदा कृषकहरु पुर्पुरोमा हात लगाएर बस्न बाध्य बनेका हुन् । आलु र कोदो खेती गर्दै आएका जिल्लाको उच्च क्षेत्रका कृषकहरु विगत ३ वर्षदेखि भुईस्याउको व्यावसायिक खेती गर्दै आएका थिए ।

व्यावसायिक रुपमा कृषकहरुले खेती शुरु गरेपछि उत्पादन बृद्दी भएपनि त्यसको विक्रि नहुँदा कृषकहरु समस्यामा परेका हुन् । उत्तरी पर्वतको लेखफाँट, शालिजा, बनौं, क्याङ, देउराली, भुकताङ्ले लगायतका अधिकांस कृषकहरुले यसको ठूलो परिमाणमा व्यवसायिक खेती गरेकाछन् ।

कृषहरुले उत्पादन गरेको हजारौं मेट्रिक टन भुईस्याउ विक्रि नभएपछि कुहिएर जाने अवस्थामा पुगेको भन्दै स्थानीय कृषक चिन्तित बनेका हुन् । आलुको भन्दा ५ गुणाबढी उत्पादन हुने र राम्रो बजार मुल्य समेत पाउने आशामा आलु छाडेर भूईस्याउको खेतीमा लागेका कृषकहरु १ हजार रुपैया प्रतिकिलोग्रामको दरले बिऊ खरिद गरेर खेती गरेका थिए । भुईस्याउको खेती जेठमा गरि माघ महिनामा उत्पादन गर्ने गरिन्छ ।
अहिले घर घरमा भुईस्याऊ खनेर थुपारेको भएपनि बजार नपाउँदा समस्या भएको लेखफाँटका कृषक कृष्णबहादुर रन्तिजाले बताउनुभयो । विक्रिका लागि व्यापारि कुरेर बसेको भएपनि कोही खरिद गर्न आएका छैनन् ।

भूई स्याउबाट सलाद, जुस र अन्य परिकार हुन्छन भने वाइन बनाउनका लागि सबैभन्दा बढी प्रयोग हुने गर्दछ । यसलाई पखालेर काँचै खाँदा समेत स्वादिस्ट हुन्छ । पछिल्लो समयमा गाउँमै यसबाट रक्सी बनाउन थालिएको छ । यसको सेवनले उच्च रक्तचाप नियन्त्रण, जोर्नी दुखेको र मधुमेह रोगलाई समेत निको पार्ने भएकाले अधिकांश घरधुरीले आफ्नै प्रयोजनका लागि पनि खेती गरेको बताउँछन् ।

भुईस्याउ एउटा बोटमा ९ केजीसम्म उत्पादन हुने र बजार मुल्य समेत राम्रो भएकाले कमाई समेत राम्रो हुने कृषकहरु बताउँछन् ।अहिले प्रतिकिलोग्राम ५० रुपैयामा बिक्रि हुँदै आएको कृषकहरुले जानकारी दिएका छन् । – पर्वत खबर साप्ताहिकबाट

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस