१५ भदाैं, पर्वत । बिल–बिजक नभएको भन्दै पर्वत प्रहरीले ठूलो परिमाणमा अलैँची नियन्त्रणमा लिएपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना हुन थालेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतले सोमबार साँझ मोदी गाउँपालिका–६, डिमुवास्थित पोखरा–बागलुङ सडकखण्डबाट बिल–बिजक नभएको १४ बोरा अलैँची नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी चौकी देउपुर डिमुवाबाट खटिएको टोलीले शंकास्पद रूपमा जाँच गर्ने क्रममा अलैँची फेला पारेपछि आवश्यक कारबाहीका लागि मोदी गाउँपालिकाको कार्यालय पातिचौर पठाइएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले बिल–बिजक नभएको अवैध अलैँची भन्दै नियन्त्रणमा लिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने प्रहरीको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले अलैँची किसानले आफ्नै खेतबारीमा उत्पादन गरेको कृषि उपज भएकाले त्यसको ढुवानीका क्रममा व्यवसायीले जस्तो बिल–बिजक कहाँबाट ल्याउने भन्ने प्रश्न गरेका छन्।
कतिपयले प्रहरीको प्राथमिकतामाथि समेत प्रश्न उठाउँदै ठूला तस्करी, अवैध नदीजन्य पदार्थ उत्खनन तथा लागूऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिनुपर्ने प्रहरी किसानले उत्पादन गरेको कृषि उपज नियन्त्रणमा लिनतर्फ केन्द्रित भएको टिप्पणी गरेका छन्।
‘किसानले उत्पादन गरेको अलैँची बेच्न लैजाँदा बिल कहाँबाट ल्याउने ?’ भन्दै सामाजिक सञ्जालमा प्रहरीको कदमप्रति असन्तुष्टि व्यक्त गरिएको छ।




