१५ भदौ, पर्वत । बिहादी गाउँपालिकाको न्यायिक समितिले निर्माण कम्पनीलाई निर्माण सामग्री भण्डारणका लागि प्रयोग गरेको निजी जग्गा खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ।
बिहादी गाउँपालिका–५ खोरपोखरा निवासी पूर्णचन्द्र काफ्लेले आफ्नो आवादी जग्गामा पैँयु गाउँपालिका र बिहादी गाउँपालिकाको सीमामा पर्ने सिद्धी खोलामा पक्की पुल निर्माणका क्रममा ग्राण्ड इन्फ्रास्ट्रक्चर नेपाल प्रा.लि., टोखा–२० काठमाडौंले निर्माण सामग्री भण्डारण गरेको भन्दै जग्गा खाली गराइदिन न्यायिक समितिमा निवेदन दिएका थिए।
निवेदनअनुसार कम्पनीका प्रबन्ध निर्देशक सूर्य अधिकारीले छोटो अवधिका लागि निर्माण सामग्री भण्डारण गर्न जग्गा प्रयोग गरेका थिए। तर पुल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि जग्गाको भाडा रकम नदिएको र निर्माण सामग्रीसमेत नहटाई जग्गा खाली नगरेको काफ्लेको दाबी छ।
जग्गा खाली गराउन कम्पनीसँग पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गर्दा समेत सम्पर्क हुन नसकेको भन्दै न्यायिक समितिले कम्पनीका प्रबन्ध निर्देशकलाई सात दिनभित्र निर्माण सामग्री व्यवस्थापन गरी जग्गा खाली गर्न सूचना जारी गरेको हो।
न्यायिक समितिले तोकिएको अवधिभित्र सामग्री व्यवस्थापन नगरे प्रचलित कानुनबमोजिम स्थानीय प्रहरी प्रशासन तथा सम्बन्धित वडाका जनप्रतिनिधिको रोहबरमा निर्माण सामग्रीको मुचुल्का खडा गरी उपयुक्त सुरक्षित स्थानमा व्यवस्थापन गरेर जग्गा खाली गराउने जनाएको छ।
बिहादी गाउँपालिकाको न्यायिक समितिले २०८३ भदौ १२ गते गरेको निर्णयका आधारमा उक्त सूचना जारी गरिएको हो। गाउँपालिकाले स्थानीय विवाद तथा न्यायिक विषयमा समितिमार्फत प्रक्रिया अघि बढाउँदै आएको छ।




