८ भदौ, पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं. २,३ र ४ मा अवथित मल्लाज क्षेत्रमा लुटपाट, चोरीडकैती र अनैतिक क्रियाकलाप बढ्न थालेपछि स्थानीयले सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्न माग गरेका छन् ।
पछिल्ला केहि वर्ष यता वित्तिय संस्था, व्यक्तिगत घरवाट गरगहना लुट्ने हत्या सम्मका घटना घटिरहेको भन्दै स्थानीयले तत्काल स्थायी प्रहरी चौकी स्थापना गर्न माग गरेका हुन् । सोमवार जलजला गाउँपालिका वडा नं. ४ का अध्यक्ष भरत बहादुर क्षेत्रीको नेतृत्वमा आएको स्थानीयवासीको टोलीले प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल र प्रहरी नायब उपरिक्षक बिजय यादबलाई भेटी गाउँमा त्रासपुर्ण वातावरण सिर्जना भएको भन्दै सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन् ।
मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमा यहि भदौ २ गते राती करिब चोरीको प्रयास भएपछि स्थानीय नागरिकहरू त्रसित बनेका छन् । यस घटनाले मल्लाज क्षेत्रका बासिन्दाहरूमा चिन्ता, त्रास र असुरक्षाको भावना निकै बढाएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
पछिल्लो समय यस क्षेत्रमा सहकारी, पसल तथा सर्वसाधारणका घरहरूमा चोरीका घटनाहरू लगातार वृद्धि हुँदै गएका छन् । विगतमा जलजला गाउँपालिका वडा नं. २ मा भएको एक वृद्ध दम्पतिको दुखद हत्याको घटनाले सिर्जना गरेको त्रास अझै कायमै रहेको बेला, लगातार भइरहेका चोरीका प्रयासहरूले स्थानीय जनतामा थप भय पैदा गरेको क्षेत्रीले बताउनुभयो ।
जलजला गाउँपालिकाका वडा नं. २, ३ र ४ मा आर्थिक गतिविधि बढ्दै गए पनि त्यसकै अनुपातमा हत्या, चोरी र अन्य आपराधिक क्रियाकलापहरू पनि बढिरहेकाले स्थानीय स्तरमा स्थायी र प्रभावकारी सुरक्षा व्यवस्थाको आवश्यकता महसुस गर्दै प्रहरी चौकी स्थापना गर्न माग गरिएको क्षेत्रीले बताउनुभयो ।
मल्लाज क्षेत्रमा दिगो शान्ति–सुरक्षा र अमनचयन कायम गर्न स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था र नागरिकहरूको तर्फबाट ज्ञापन–पत्र तयार गरी प्रजिअ र प्रनाउलाई बुझाईएको हो । वडा नं. ४ का वडा अध्यक्ष तथा अनुसन्धान सहयोग समितिका संयोजक भरत बहादुर क्षेत्रीद्वारा हस्ताक्षरित उक्त ज्ञापन–पत्रमा स्थानीयवासीले सहकारीमा भएको चोरी प्रयासको निष्पक्ष, पारदर्शी र वैज्ञानिक ढंगले गहिरो अनुसन्धान गरी दोषी पहिचान गर्न माग गरेका छन् ।
उनीहरूले घटनासँग सम्बन्धित सीसीटीभी फुटेज, घटनास्थलमा भेटिएका औजार र अन्य सबुत प्रमाणहरू सुरक्षित राखी प्राविधिक परीक्षण गर्नुपर्ने कुरामा जोड दिएका छन् । यसका साथै मल्लाज क्षेत्रका सहकारी, बैंक, वित्तीय संस्था, पसल तथा व्यावसायिक क्षेत्रमा नियमित प्रहरी गस्ती र सुरक्षा निगरानी बढाउन, स्थायी प्रहरी चौकी स्थापना गर्न, यस क्षेत्रमा लागुपदार्थको प्रयोग तथा अवैध बिक्री–वितरण बढिरहेको जनगुनासो रहेकाले यसलाई गम्भीरतापूर्वक लिएर प्रभावकारी नियन्त्रण र चेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत माग गरेका छन् । घटनामा संलग्न हुन सक्ने शंकास्पद व्यक्तिहरूबारे कानुन बमोजिम आवश्यक सोधपुछ र अनुसन्धान गरी वास्तविकता पत्ता लगाउन र नागरिकमा बढेको त्रास कम गर्न नियमित सुरक्षा गस्ती बढाउन आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले घटनाको सत्य तथ्य छानविन गरी दोषिलाई कानूनी दायरामा ल्याउन सुरक्षा निकायले हरदम प्रयास गरिरहेको केहि दिनमै नतिजा आउने बतउानुभयो । उहाँले स्थानीयवासीको सुरक्षाका लागि तत्काल प्रहरी गस्ती बढाईने बताउँदै प्रहरी चौकी स्थापना गर्न जिल्लाको मात्र प्रयासले सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्र्रहरी नायब उपरिक्षक बिजय यादबले सिमीत जनशक्तिका कारण सवै क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न नसकिएको बताउँदै मल्लाज क्षेत्रमा बढ्दो असुरक्षा र गैरकानूनी क्रियाकलाप न्यूनिकरण गर्नका लागि आजैदेखि प्रहरी गस्ति बढाउने जानकारी दिनुभयो । उहाँले वारीबेनी र मिलनचोकमा रहेका प्रहरी चौकीमार्फत नियमित गस्ती र निगरानी बढाउने बताउँदै अस्थायी प्रहरी बीट राख्ने विषयमा थप छलफल र योजना बनाईने बताउनुभयो ।
सो अवसरमा स्थानीयवासीले अहिले भैरहेका प्रहरी चौकीवाट प्रभावकारी रुपमा सुरक्षा प्रदान नभएको भन्दै प्रहरीहरुलाई जिम्मेवार बनाउन समेत माग गरेका छन् । सो अवसरमा वडा नं. २ का अध्यक्ष प्रकाश जिसी लगायत सहकारीका संचालक र स्थानीयवासीहरुको सहभागिता थियो ।




