Print

नवजात शिशुलाई न्यूनतम ६ महिना पूर्ण स्तनपान गराउन सरोकारवालाको जोड


३१ जेठ, पर्वत । नवजात शिशुको स्वस्थ वृद्धि तथा विकासका लागि जन्मेदेखि कम्तीमा ६ महिनासम्म पूर्ण स्तनपान गराउने विषयमा सरोकारवालाबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।


प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकार, औषधि व्यवसायी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्तनपानको महत्व, शिशु तथा आमाको स्वास्थ्यमा यसको प्रभाव, स्तनपानसम्बन्धी विद्यमान चुनौती तथा सुधारका उपायबारे छलफल गरिएको थियो।


कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने दर ५५ प्रतिशत रहेको छ भने ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशत रहेको छ। सन् २०३० सम्म पूर्ण स्तनपानको दर ७० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिइयो।


छलफलका क्रममा सहभागीहरूले स्तनपानलाई प्रवर्द्धन गर्न परिवार, समुदाय, सञ्चारमाध्यम र स्वास्थ्य संस्थाहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए। विशेषगरी पत्रकारमार्फत सही सूचना प्रवाह र औषधि व्यवसायीमार्फत आमाहरूलाई उचित परामर्श उपलब्ध गराउन सके स्तनपान प्रवर्द्धन अभियान प्रभावकारी बन्ने धारणा व्यक्त गरिएको थियो।


प्रदेश जनस्वास्थ्य कार्यालयले स्तनपान सम्बन्धी जनचेतना अभिवृद्धि गरी मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। कार्यक्रममा नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने र कम्तीमा ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासलाई व्यापक बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।