Print

पर्वतमा वस्तीहरु रित्तो बन्दै : स्थानीय तह गाउँ फर्क अभियान चलाउँदै


२४ जेठ, पर्वत । पछिल्लो एक दशकको जनसंख्या हेर्दा पर्वतका गाउँ बस्तीहरु रित्तो प्रायः बन्दै गएका छन् । भरीभराउ गाउँ बस्ती ५० को दशकमा शुरु भएको जनयुद्धका कारण रित्तिन शुरु गरे । देशमा ६० को दशकमा शान्ति आयो । देशमा संविधान बन्यो । तर, गाउँ बस्ती रित्तिन छाडेका छैनन् । पर्वत जिल्लाका अधिकांश गाउँहरु पुग्दा यस्तो लाग्छ अवको १ दशक पछि वस्तीसवै झाडीमय हुनेछ ।

अवको २ दशक पछि वस्तीहरु खण्डहरु बन्नेछन् । जनसंख्या बृद्धिदर घट्दै गएको बेला बसाईसराईको पिडामा पर्वतका अधिकांश गाउँहरु देखिन्छ । महाशिलाको लाम्तुङ गाउँ बस्नका लागि जति नै स्वर्गतुल्य छ । त्यति धेरै घरमा मानिसहरु छैनन् । गुरुङ समुदाय अहिले गाउँमा केहि मात्रै भेटिन्छन् । अधिकांशले शहर बजार च्यापेका छन् । कुश्माको आर्थर गाउँ दिउँसै सुनसान देखिन्छ । चहलपहल हुने चोक, गल्ली र वस्तीहरुमा झ्याउकिरी कराएको सुनिन्छ । मानिसको आवाजको ठाउँमा चराचुरुङगीका चिरबिर आवाज गुन्जिन्छन् ।आर्थरका लगभग धेरै गुरुङ बस्तीमा मानिस छैनन् । गाउँका केहि दलित समुदायले गाउँघरको स्याहार गरेका छन् । आर्थर मात्रै होइन पर्यटकीय सौन्दर्यले भरिएको चित्रे गाउँको कथा पनि उस्तै छ । मोदी गाउँपालिमा पर्ने चित्रमा ३ दशक अघिसम्म बाक्लो बस्ती थियो । घना जनसंख्या थियो । अहिले पातलिएका मानिसहरु एकादुई घरमा मात्रै भेटिन्छन् ।

पर्वत जिल्लाका अधिकांश गुरुङ र मगर बस्तीहरु खाली जस्तै भएका छन् । उनीहरुको अधिकांश बसोबास पोखरा र काठमाण्डौं छ । बाह्मण, क्षेत्री र दलित समुदायका मानिसहरुले तराई क्षेत्रलाई बसाईको आधार बनाएका छन् । मोदीकै राम्जा स्थित रापु गाउँमा २ घर मात्रै अहिले गुरुङ जातीको बसोबास छ । मिलेको समुदाय, मिश्रित समुदाय र एकताबद्ध समाज अहिले ठाउँ ठाउँमा बसाईसराई भएर जाँदा एक्लो जस्तै बनेको छ । मोदीकै क्याङ, लेस्सारका गाउँ रित्तिँदा पारी पाखाको लाङ्दी र घुरुङा गाउँको सुनसान वस्ती आफैमा दुःखित देखिन्छ ।

पहाडी क्षेत्रमा बसोबासको दर हेर्दा अवको ३ दशक पछि हिमाली क्षेत्रको जस्तै जनसंख्या हुने सम्भावना देखिन्छ । रित्तिदै गएको कुश्माको दुर्लुङ स्थित चनौट गाउँले आफ्नो अस्तित्व भुल्ने तयारीमा छ । पर्यटन, संस्कृति र प्रकृतिको अनुपम उदाहरण चनौटेका धेरै घरहरु खाली छन् ।

गाउँपालिका र नगरपालिकाले गाउँ फर्क अभियान सञ्चालन गरेका छन् । जिल्लाको महाशिला गाउँपालिकाले आगामी भविश्य जनसंख्या घट्त्तोरी र बसाईसराईका कारण कस्तो बन्ने हो निश्चित छैन । गाउँपालिकाले गाउँ फर्क प्यारा प्यारी सञ्चालन गरेको छ । स्वयम् जनप्रतितिधिहरु अधिकांशको बसोबास पोखरा र नवलपुर छ । गाउँ फर्क अभियानमा १५ परिवार फर्किएको गाउँपालिकाको दावी भए पनि गाउँका शिक्षित र अगुवाहरुले नै गाउँ छाडेका छन् ।

२ दशक अघिसम्म पर्वतका धेरै वस्तीमा सडक सुविधा थिएन । ३ दशक अघिसम्म अधिकांश गाउँमा वत्ति थिएन । अहिले सडक, सञ्चार र विद्युत सेवा उपलब्ध छ । तर, मानिसहरु अवसरको खोजीमा शहर र तराई क्षेत्र नै रोजेका छन् ।