Print

पर्वतमा बाँझो जमिन बढ्दै

२५ जेठ, पर्वत । जिल्लाका विभिन्न ठाउँमा बस्तीहरु रित्तिने मात्रै होइन, जमिन बाँझो राख्ने क्रम बढेर गएको छ । खेतीयोग्य जमिन बाँझो राख्ने प्रचलन बढ्दै गएको हो । बसाईसराई र बाँदर आतंकले गाउँघरका जमिनहरु अहिले बाँझो देखिन थालेका छन् ।युवाशक्तिको पलायन, बाँदरको आतङ्क, भौगोलिक अवस्था, कृषिमा यान्त्रिकरणको अभावलगायत कारण बर्सेनि बाँझो जमिनको क्षेत्र बढ्दै गएको हो ।

पर्वत जिल्लामा ६ हजार हेक्टर भन्दा धेरै खेतीयोग्य जमिन बाँझो रहेको छ । जिल्लाभर २५ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन भए पनि १९ हजार हेक्टर जग्गामा मात्रै खेती गरिएको छ ।
जिल्लाको खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । पन्ध्र हजार एक सय एक हेक्टरमा कुनै पनि सिँचाइ सुविधा पुगेको छैन । जिल्लाका सातवटै पालिकामा बर्सेनि जग्गा बाँझो रहनेक्रम बढ्दै गएको छ ।

पछिल्ला केही वर्षयता बाँदरका बथान बस्तीबस्ती चहार्न थालेपछि दुःख गरेर लगाएको खेती थन्क्याउन नपाएपछि किसानमा निराशा बढेको छ । केही किसानले व्यावसायिकरूपमै तरकारी र फलफूल खेती गरेको भए पनि बाँदर र अन्य प्राकृतिक कारणले अपेक्षित लाभ लिन नसकेको बताउँछन् ।

बसाईसराईका कारण गाउँघरहरु रित्तो बन्दै जाँदा गाउँका जग्गाहरु पनि बाँझो हुन थालेका छन् । बाँदर आतंकले सृजीत समस्या समाधान गर्न सरकार उद्दत नहुँदा पनि गाउँमा बस्ने कृषकहरुले उत्पादनमुखी कृषि उपज लगाउन पाएका छैनन् ।