Print

कुश्मामा माेटरसाईकल दुर्घटना : २ जना गम्भीर घाईते

२० जेठ, पर्वत । कुश्मा नगरपालिका–२ स्थित अर्मादी घुम्तीमा आज अपराह्न ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किन लाग्दा भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।


जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा गम्भीर घाइते भएका छन्।

उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। त्यसैगरी मोटरसाइकलको पछाडि सवार जलजला गाउँपालिका–७ लस्ती निवासी करिब ३२ वर्षीय नारायण रिजालको टाउकोमा चोट लागेको छ। दुवै घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूको प्रदेश अस्पताल कुश्मा, पर्वतमा उपचार भइरहेको छ।


दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट मालढुङ्गाबाट प्रहरी सहायक निरीक्षक रेशम सुनारको कमाण्डमा ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएको थियो।


प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई नियन्त्रणमा लिई ट्रकसहित जिल्ला प्रहरी कार्यालय पर्वतमा राखेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।