Print

प्रबन्ध निर्देशक गिरी सहित ३ पत्रकार पुरस्कृत

१८ जेठ, पर्वत । जि एण्ड जि मिडिया प्रा.लिका प्रवन्ध निर्देशक गणेश गिरी सहित ३ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पर्वतको १४ औं साधारण सभाको अवसरमा निर्देशक गिरी सहित ३ जनालाई सृजनशिल पत्रकारीता पुरस्कारबाट सम्मानीत गरिएको हो । गिरी सहित पत्रकारहरु छविलाल तिवारी र प्रनिश गिरी पुरस्कृत भएका हुन् । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रहेका निर्देशक गिरी पर्वत न्यूज डटकम अनलाईनका सम्पादन हुन ।

महाशिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उद्धेश्यले महाशिलामा साधारणसभा गरिएको हो । साधारणको सभाको अवसरमा महासंघका ३ जना पूर्व अध्यक्ष सम्मानित भएका छन् । पूर्व अध्यक्षहरु ओम प्रसाद शर्मा घायल, छविलाल तिवारी र सन्तोष थापालाई शाखाले सम्मान गरेको छ ।
पुरस्कृत पत्रकारहरुलाई नगद रु. १२ हजार दुई सय २२ रुपैया सहित दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो । महासंघले हरेक वर्ष उत्कृष्ट पत्रकारहरुलाई यो पुरस्कार वितरण गर्दै आएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले गण्डकी प्रदेशको समृद्धिको मुख्य आधारनै पर्यटन भएको बताउनुभयो । पर्यटन क्षेत्रको विकासबाट मात्र गण्डकी प्रदेशको आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउँदै अब नयाँ नयाँ गन्तब्यहरुको विकास र बिस्तारमा जोड दिईने बताउनुभयो । मन्त्री रिमालले प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेका थुप्रै पर्यटकीय स्थलहरु रहेको बताउँदै स्थानीय सरकारहरुले तिनिहरुको उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री रिमालले संघीय सरकारले सरकारी विज्ञापन कटौती गरेर सञ्चार माद्यामलाई समस्यामा पार्न खोजेपनि गण्डकी प्रदेश सरकार सदैब पत्रकारहरुको साथमै रहेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई निषेध गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसाल, महाशिला क्षेत्र विकास समितिका अध्यक्ष राजु पौडेल, प्रेस काउन्सिल नेपाल सम्परीक्षण समिति सदस्य हरिओम शर्मा लामिछाने, उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले बोल्नुभएको थियो ।
पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्री र संचालन सचिब साजन परियारले गर्नुभएको थियो ।
पत्रकारहरुको महाशिला भ्रमण तथा साधारणसभाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।