१५ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिकास्थित शिवालय गुठी हाताभित्र पर्ने ऐतिहासिक इनारको उत्खनन सुरु गरिएको छ । विगत लामो समयदेखि कंक्रीटको ढलन गरी पुरिएको इनारको यतिखेर उत्खनन गरी संरक्षण गर्न लागिएको हो ।
कुश्मा नगरपालिकाको वडा ६ मा पर्ने शिवालयचोक भन्दा केही माथि रहेको इनार स्थानीयबासीका अनुसार २ सय वर्ष भन्दा बढी पुरानो मानिन्छ । ठुला छपनी ढुंगाले चिटिक्क चिनेर तयार पारिएको इनारको सतहदेखि माथिसम्म पर्खाल लगाइएको थियो । इनारछेउ हुने गरी खनिएको पक्की सडक र लगाइएको मेशीनरी वालका कारण इनारको पर्खाल भत्किएर जिर्ण बनेको थियो ।
करीव ५० फीट गहिराइ रहेको इनारको केही तलसम्म ढुंगाको सिढी लगाइएको पाइन्छ । इनारको लम्वाइ करीव ८ मीटर छ भने चौडाइ औसतमा ५ मीटर छ । ईनारको पचास फिट गईराईमा पानीको सतह रहेको छ । २०४५ साल सम्म कुश्मा बजार बासीले पिउने पानीको रुपमा उपयोग गरेको स्थानीय राम गिरीले जनाएका छन । पहिले मानिसहरुले गाग्री डोरीमा बाँधेर डुबुल्की लगाई पानी निकाल्ने गर्दथे ।
कुनैबेला स्थानीयवासीको पिउने पानीको स्रोत रहेको इनार दुई दशक भन्दा बढी कंक्रीटको ढलनबाट पुरिएको थियो । अहिलेको शिवालय चोक आसपासको खेतीयोग्य जग्गामा पहिले वर्षाको समयमा धान रोप्ने पानीको स्रोत इनारकै पानी हुने गर्दथ्यो । २०५० साल देखी सार्वजनीक धाराको पानी वितरण हुन थालेपछि ईनारको प्रयोग घटेसँगै ईनारलाई जोखीम भन्दै पुरीएको थियो । सार्वजनीक रुपमा पाईप मार्फत पानी वितरण नहुने समय सम्म कुश्मा बजार र आसपासका क्षेत्रमा इनारकै पानीले मानिसहरुले आफ्नो तिर्खा मेटाउने गर्दथे । घरघरमा धाराको सुविधा भएपछि भने इनारको पानी संरक्षणमा स्थानीयबासीको रुचि घट्न पुगेको हो ।
प्राचीन कालमा पुर्खाहरुले करीव दुई किलोमिटर टाढा पर्ने खरेहाबाट कुलो बनाइ पानी ल्याएर इनारमा जम्मा गरेर समेत खानेपानीको पहुँच पुयाउने गरेको स्थानीय वासी हरुले बताउँने गरेका छन । महन्त धनराज गिरीले ३ सय वर्ष पहिले स्थापना र संरक्षण गर्दै आएको शिवालय गुठीमा पहिले मुक्तिनाथ धार्मिक क्षेत्र आउनेजाने साधुसन्तहरु बास बस्ने यसै ईनारबाट पानी पिउने गरेको ईँतीहास रहेको छ । वडा छ का पर्वत जिल्लाकै ईतीहास बोको एैतिहासिक इनार लोप हुने नदिन ८ लाख रकम खर्चिएर पुर्ननिर्माण गरी संरक्षण गर्न लागेको कुश्मा ६ वडा अध्यक्ष ईश्वर गिरीले बताए । –महेन्द्र जिसी




