८ जेठ, पर्वत । जिल्लाको जलजला गाउँपालिकाको नाम परिर्वतन गर्न धर्म गुरुले सुझाब दिनुभएको छ । धर्म गुरु मुक्तिनाथ पीठाधीश्वर श्वामी कमलनयन आचार्यले कालाञ्जर क्षेत्रमा पुगेर यस्तो सुझाब दिनुभएको हो । जलजला गाउँपालिका धार्मिक रुपमा आफैमा पवित्र क्षेत्र मानिन्छ ।
समुद्री सतहदेखि ३,३०८ मिटर उचाइमा अवस्थित कालाञ्जर क्षेत्रलाई ‘मृगसरोवर’ का रूपमा पनि चिनिन्छ । धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रमा राजा भरतले तपस्या गरेको जनविश्वास रहेको छ । जहाँसुकै श्रद्धा गरे पनि कालाञ्जरको नाम उच्चारण गर्दा मात्र सिद्धि प्राप्त हुन्छ भन्ने हिन्दु धर्म शास्त्रमा मान्यता रहेको छ । विभिन्न पुराणमा समेत यसको महिमा उल्लेख भएकाले पवित्र कालाञ्जरको पहिचानको लागि जलजलाको नाम कालाञ्जर राख्दा पुन्य मिल्ने धर्म गुरु आचार्यको भनाई रहेको समाचार अर्थ वीट साप्ताहिकले प्रकाशन गरेको छ ।
जलजलाको कालाञ्जर क्षेत्रमा हम्पालको लेक पर्दछ । हम्पालको लेक भित्र ‘मृगसरोबर’ छ । जसलाई ‘इन्द्रसरोबर’को रुपमा चिनिन्छ । हिन्दु धर्म शास्त्रमा भगवानहरुलाई दुःख परेको बेलामा, दानवहरुसंगको युद्धमा पराजय भोग्नुपरेको बेलामा यहि इन्द्रसरोवरमा आएर कोहि देवता मृग र कोहि देवता चराको रुप धारण गरेर बस्ने गरेको धर्म शास्त्रमा उल्लेख भएको आचार्यले बताउनुभयो । यहाँको जल (पानी) सेचन गरेको खण्डमा भगवानहरुले रुप बदल्ने गरेको र पुनः जल सेचन गर्दा पुरानो रुपमा फर्कने गरेका कारण मृगसरोवरको जललाई इन्द्रसरोबर भनिएको धर्म गुरुको भनाई छ । आदिम कालमा १ हजार ५ सय मिटर सम्म लामो यस ताल अहिले साँधुरो भएको छ । यसको प्रवद्र्धन गर्नुपर्ने आचार्यले भनाई रहेको समाचार अर्थ वीट साप्ताहिकमा प्रकाशित छ ।
भगवान शिवले धेरै लामो समयसम्म यस स्थानमा तपस्या गरेको उल्लेख गर्दे धर्म गुरु आचार्यले यहाँ रहेको गुफामा शिव र पार्वतीले लामो समय विताएका थिए । सुन्दर, शान्त र एकान्तको प्रतिमूर्ति कालाञ्जर क्षेत्रलाई मृत्यु भयमाथिको विजय, तपस्या, शिवभक्ति तथा मोक्ष मार्गको प्रतिकको रुपमा ब्याख्या गरिएको छ । स्कन्दपुराणमा विस्तृत ब्याख्या भएको कालाञ्जर पर्वत अहिले धार्मिक पर्यटनसंगै पदयात्रामा रुचि राख्नेहरुका लागि समेत आकर्षणको केन्द्रविन्दु बनिरहेको छ । जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यले यसको प्रचार प्रसार र प्रवद्र्धनमा गाउँपालिकाले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।
१ बर्षसम्म सञ्चालन भएको धार्मिक अनुष्ठान महायज्ञको समापन भईसकेको छ । अध्यक्ष आचार्यले सडक मार्गको निर्माण, आवास गृहको निर्माण तथा अन्य संरचनाहरुको निर्माण मार्फत कालाञ्जर पर्वतलाई विश्वभर चिनाउने आफ्नो संकल्प परेको स्पष्ट पार्नुभयो । अध्यक्ष आचार्यले धर्म र सम्पदाको प्रतिमूति कालाञ्जर क्षेत्र विश्वभरका हिन्दुहरुको आस्थाको केन्द्र भएको बताउनुभयो ।
ध्यान, योग, साधनामा रुचि राख्नेहरुका लागि कालाञ्जर पर्वत उचित गन्तब्य भएको उल्लेख गर्दैै आचार्यले कालाञ्जर क्षेत्रमा ६० लाख बढि खर्च गरेर निर्माण गरिएको आवास गृहमा बास बस्न सशुल्क गाउँपालिकाले ब्यवस्थापन गर्ने जानकारी दिनुभयो । १२ महिना नै चिसो हुने यस स्थानमा ध्यान र योग गर्न रुचाउनेहरुका लागि न्यानो कोठाहरुको प्रवन्ध साथै अन्य संरचनाहरुको निर्माणमा गाउँपालिकाले योजनाबद्ध काम गरीरहेको अध्यक्ष आचार्यको भनाई छ । जेठ ३, २०८३ को अर्थ वीट साप्ताहिकमा प्रकाशित समाचार





