Print

जलजलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

७ जेठ, पर्वत । जलजला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु आचार्यले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउँदै सबै सरोकारवालाको सहकार्यले पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको उल्लेख गरे।

उनले आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिँदै दिगोपनामा विशेष ध्यान दिइने बताए। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसीले पूर्ण खोप सुनिश्चितता घोषणा हुनु स्वास्थ्य क्षेत्रकै महत्वपूर्ण उपलब्धि भएको बताए। उनले बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समुदायको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले खोप अभियानले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।