२३ कार्तिक, पर्वत । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णप्रसाद पाठकले सोमबार पैयूँ आधारभूत अस्पतालको अवलोकन तथा निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा अस्पतालको वर्तमान सेवा, संरचना तथा आवश्यकताबारे मन्त्रीले अस्पताल प्रशासनसँग प्रत्यक्ष जानकारी लिनुभएको हो ।
निरीक्षणपछि मन्त्री पाठकले छात्रवृत्ति कोटाबाट एक जना डाक्टर, भिडियो एक्स–रे मेसिन तथा आवश्यक स्वास्थ्य सामग्रीहरू तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो। साथै निर्माणाधीन नयाँ भवन पूर्ण रूपमा हस्तान्तरण भएपछि मिर्गौला डायलिसिस सेवा पनि यहीँबाट सुरु गर्ने तयारी अघि बढाइने बताउनुभयो ।
कार्यक्रममा पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्यालले सेवा स्तर क्रमिक रूपमा सुधार भइरहेको उल्लेख गर्दै प्रदेश सरकार लगायत सम्बन्धित निकायले आवश्यक सहयोग निरन्तर गर्ने आश्वासन दिनुभयो।
कार्यक्रममा पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले अस्पतालमा उपलब्ध सामाग्रीको अभाव तथा आवश्यक स्वास्थ्य उपकरण, जनशक्ति र अन्य सामग्रीहरूको माँगपत्र मन्त्री पाठकलाई औपचारिक रूपमा बुझाउँदै यथाशिघ्र व्यवस्था मिलाइदिने अपेक्षा व्यक्त गर्नुभयो ।
निरीक्षण कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति थियो ।




