३० असोज, पर्वत । मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीमा गाउँपालिकाका विभिन्न शाखा तथा उपशाखाहरुले आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरू, कार्यक्रमहरू र सेवा प्रवाहको समग्र प्रगतिबारे प्रस्तुति दिएका थिए। सवैजसो शाखाले सम्पादन गरेका कार्यहरु सन्तोषजनक देखिएका छन् ।
गोष्ठीमा गाँउपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, जनप्रतिनिधिहरू, कर्मचारी विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले योजना कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका लागि सुझावहरू पनि प्रस्तुत गरेका थिए। गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले वार्षिक समिक्षा गोष्ठीले आगामी योजना निर्माण र कार्यान्वयनमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै सबैको सक्रिय सहभागिता र सहकार्यप्रति आभार प्रकट गर्नुभएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जनताप्रति जवाफदेहि बनेर कर्मचारीहरुले काम गर्नुपर्ने निर्देशन दिनुभएको थियो । जनताले तिरेको करको सहि सदुपयोग हुने गरी गाउँपालिकाले अनावश्यक खर्च कटौती गरीरहेको समेत बताउनुभयो । उहाँले गत आर्थिक बर्षमा गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम तथा आयोजनाहरु जनताकै सहभागीतामा सम्पन्न भएको भन्दै गुणस्तरीएता र दिगोपनका लागि समुदायको थप चासो हुनुपर्ने बताउनुभयो ।
गोष्ठीमा स्वास्थ्य, शिक्षा,पूर्वाधार, कृषि,पशु,उद्यम,राजश्व,सेवा प्रवाह,आर्थिक विकास लगायतका क्षेत्रमा प्राप्त उपलब्धि र आउँदा वर्षमा थप सुधार गर्नुपर्ने पक्षहरूलाई प्राथमिकतामा राखेर छलफल गरिएको थियो।




