Print

कालीगण्डकी लोकमार्गको पाङराङ खण्डमा सडक भाँसियो


३ असोज, पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा न ११ पाङराङमा कालीगण्डकी लोकमार्गको सडक भाँसिएको छ । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पाङराङ खण्डको सडक अबिरल बर्षातका कारण भाँसिएको हो ।

लोकमार्ग निर्माणको काम सम्पन्न भएको स्थानमा सडक भाँसिने तथा भत्कने क्रम बर्षातको क्रममा रोकिएको छैन । सडकको नियमित मर्मतको काम नभएको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । सडक खण्डको सेतीवेणी देखि कुर्घासम्मको सडकको निर्माण कार्य अधिकांश सम्पन्न भए पनि केहि भागको काम भने अझै अलपत्र परेको छ । कुर्घा देखि पाङराङ जोड्ने स्थानमा सडक जिर्ण अवस्थामा छ ।

उक्त स्थानमा सडक पक्कि बनाइएको छैन् । उता, लमायखोलाको मोटेरेवल पुल निर्माण सम्पन्न भए पछि उक्त स्थानको सडकले पूर्णता नपाउँदा अझै पनि सवारी साधन चल्न सकेका छैनन् । यस अघि भत्किएको पाङराङ क्षेत्रको सडकको समेत मर्मत हुन सकिरहेको छैन् ।

चालु बर्षातमा पाङराङ खण्डको कर्नास क्षेत्रमा सडक भाँसिदा सडकमा सवारी आगमनमा थप समस्या परीरहेको छ । सडक भाँसिएको क्षेत्रमा डाइभर्सन मार्फत भने सडक सञ्चालनमा रहेको छ ।