२४ साउन, पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले खाद्यन्न उत्पादनमा पर्वत जिल्ला आत्मनिर्भर भएको जनाएको छ । कार्यालय प्रमुख परशुराम अधिकारीले बार्षिक समिक्षा कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै पर्वत जिल्ला खाद्यन्न उत्पादनमा आत्मनिर्भर भएको बताउनुभएको हो ।
कार्यालय प्रमुख अधिकारीले गत आर्थिक बर्ष २०८१/०८२ मा कुल ८०.०१ प्रतिशत उपलब्धि हासिल भएको बताउनुभएको छ । कार्यालयले पुँजीगत तर्फ कुल ९८.६ प्रतिशत र चालु तर्फ ७३.७ प्रतिशत उपलब्धि हासिल गरेको थियो ।
मकै बिउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना, रैथानेबाली प्रवद्र्धन आयोजना, यान्त्रिकीकरण तथा सिंचाई पूर्वाधार निर्माण जस्ता महत्वपूर्ण कार्यक्रमहरु कार्यालयले गत आर्थिक बर्षमा सञ्चालन गरेको थियो ।
गत बर्ष मात्रै खाद्यन्न बाली तर्फ ७२ हजार ९ सय ५० मेक्ट्रीक टन उत्पादन भएको छ भने धान बाली तर्फ ६२ हजार ६ सय ६ मेक्ट्रिक टन उत्पादन भएको छ । यसैगरी मकै बाली ३३ हजार १ सय २०, गहुँ ५ हजार २ सय २० मेक्ट्रिक टन, कोदो ७ हजार ८ सय ५० मेक्ट्रिक टन उत्पादन भएका कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्षमा आलु बिक्रीबाट कुल ७ लाख ७२ हजार ८ सय २० रुपैंया कृषकले आम्दानी गरेका छन् । पर्वतका उच्च पहाडी क्षेत्रहरुमा आलु खेतीको उत्पादन राम्रो हुने गरेको कार्यालयले जनाएको छ ।




