Print

फलेवासको भवानी विद्यापीठको दश लाख रकम शिक्षकद्धारा हिनामिना

१० साउन, पर्वत । फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँमा सञ्चालित भवानी विद्यापीठ माध्यमिक विद्यालयको रु. १० लाख भन्दा बढी रकम एक शिक्षकले किर्ते गरेर हिनामिना गरेको खुलासा भएको छ ।

विद्यालयमा अध्यापनरत आइटि शिक्षक लक्ष्मी ढवालले रकम हिनामिना गरेका हुन् । उनले विद्यालयका प्रधानाध्यापक र लेखापालको समेत हस्ताक्षर किर्ते गरी रु.१० लाख ३५ हजार रुपैयाँ रकम हिनामिना गरेको विद्यालयले जनाएको छ ।

यति ठूलो धनराशि को दुरुपयोग हुँदा विद्यालयले झण्डै ६ महिना पछि मात्रै पत्तो पाएको छ ।  विद्यालयका  प्रधानाध्यापक अर्जुन कुमार रेग्मीका अनुसार उक्त कार्यमा संलग्न शिक्षकलाई कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएको जानकारी दिनुभयो । बैंक खाताबाट नक्कली हस्ताक्षर प्रयोग गरी विद्यालयका आईटी शिक्षक लक्ष्मी ढवालले रकम झिकेको थाहा भएको बताउँदै रेग्मीले कानुन बमोजिम कारबाहीका लागि जाहेरी दिएको बताउनुभयो ।

पहिलोपटक राष्ट्रिय वाणिज्य बैंक, कुश्मा शाखाबाट करिब रु.९० हजार रुपैयाँ, दोस्रोपटक कोटेश्वर, काठमाडौं शाखाबाट रु. आठ लाख ५० हजार रुपैयाँ, र तेस्रोपटक  बाँकी रकम रु. ९५ हजार निकालिएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार विद्यालयबाट किटानी जाहेरी प्राप्त भएको र उक्त जाहेरी उपर अनुसन्धान चलिरहेको छ ।

आरोपित शिक्षक अहिले सम्पर्क विहिन रहेका छन् । शिक्षक ढवालले बैंकमा रकम बुझेको सिसिटिभी फुटेज समेत लिइसकिएको छ । आरोपित शिक्षकलाई नियन्त्रणमा लिनका लागि खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।