२ साउन, पर्वत । जिल्लाको बिहादी गाउँपालिकाले चालु आर्थिक बर्षमा निर्माण सम्पन्न हुने गरी बृहत चिस्यान केन्द्र निर्माण गर्ने भएको छ । गाउँ पालिकाको गाउँसभाबाट पारित बार्षिक बजेटमा बृहत चिस्यान केन्द्र निर्माण गर्ने कुरा उल्लेख गरिएको हो । गाउँपालिका अध्यक्ष परविन गुरुङका अनुसार चालु बर्षका लागि कुल २५ लाख बजेट उक्त कार्यका लागि विनियोजन गरिएको छ ।
गाउँपालिका भित्र रहेका कृषकहरुलाई चिस्यान केन्द्र निर्माण भए पनि सहज हुने गुरुङको विश्वास रहेको छ । गुरुङले चिस्यान केन्द्र नहुँदा स्थानीय कृषकहरु अयन्त्र गएर चिस्यान केन्द्रको सेवा लिन बाध्य भईरहेको भन्दै कृषक राहतमुखी कार्यक्रम अन्तर्गत यस योजनालाई बजेटमा समावेश गरिएको जानकारी दिनुभयो । कृषी उपजकहरुको भण्डारणका लागि गाउँपालिका भित्र अहिलेसम्म पनि चिस्यान केन्द्रको अभाव थियो ।
कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको सुरक्षण भण्डारणका लागि गाउँपालिकाले नै सहयोग गर्ने भएपछि स्थानीय कृषकहरुलाई सहज हुने भएको छ । यसैगरी गाउँपालिकाले चालु आर्थिक बर्षका लागि विद्यार्थी खाजाका लागि २० लाख रुपैंया विनियोजन गरेको छ ।
गाउँपालिका भित्रका कक्षा १ देखि ८ कक्षासम्मका सवै विद्यार्थीहरुलाई स्थानीय उत्पादनका खाद्यन्नहरु समेतलाई प्रयोग गर्ने गरी दिवा खाजाका लागि उक्त रकम विनियोजन गरेको हो ।




