Print

सकियो असार : पर्वतमा धान रोपाई ६० प्रतिशत


३२ असार, पर्वत । पर्वतको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानवाली रोपाई असार अन्तिम सम्मा जम्मा ६० प्रतिशत मात्र भएको छ ।

समयमै मनसुन शुरु भएपनि पर्याप्त मात्रामा पानी नपर्दा रोपाई ढिलो भएको हो । अझै ४० प्रतिशत खेतमा रोपाई गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । समयमै मनसुन शुरु भएपनि मुल फुट्नेगरी पानी नपर्नु र जनशक्तिको अभाव लगायतका कारण कृषकले समयमै खेत रोपाई गर्न नपाएका हुन् ।

सिंचाईको सुविधा भएका र खोलानालाका आसपासमा रहेका अधिकांस स्थानमा असारको दोस्रो साताभित्रै रोपाई सकिएको थियो भने मकै र चैते धान लगाएका र ढिलो रोपाई हुने ठाउँमा रोपाई चलिरहेको कृषि ज्ञान केन्द्र पर्वतका सुचना अधिकारी सोविता सुवेदीले जानकारी दिनुभयो ।

धेरैजसो स्थानमा मकै थन्काएर धान रोप्ने भएकाले किसानहरु रोपाई ढिलो गरी शुरु गरेका हुन् । ज्ञान केन्द्रका अनुसार जिल्लाको जलजला, मोदी र महाशिला गाउँपालिकामा कृषकले रोपाई सिध्याएका छन् भने पैयुँ, फलेवास, विहादी र कुश्मा नगरपालिका अधिकांस स्थानमा रोपाई बाँकी रहेको छ ।

जिल्लाका उत्पादनयोग्य भूमिमा मकै खेतीपछि धान खेती हुने गरेको छ । खोल्साखोल्सी भएका, मकै खेती नगरिएका, बाँझो छाडिएका, एक बाली मात्रै खेती गरिने जस्ता ठाउँहरूमा जेठको अन्तिम साता वा असारको दोस्रो सातादेखि नै रोपाइ हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका वागवानी विकास अधिकृत सुवेदीका अनुसार पर्वतमा साउनको दोस्रो हप्ता भित्र रोपाई सकिने अनुमान गरिएको छ । गत वर्ष जिल्लाको सात हजार एक सय ८० हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यो वर्ष पनि यही क्षेत्रफल बराबरकै रोपाइ हुने अनुमान गरिएको उहाँको भनाई छ । धान खेती हुनेमध्येको ३६ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको प्रबन्ध रहेको भए पनि त्यो सबै क्षेत्रमा पनि सबै समयमा पानी उपलब्ध नहुने अवस्था रहेको उहाँले बताउनुभयो । जिल्लाका कतिपय ठाउँमा समयमै विऊ छर्न नपाएका कारण पनि रोपाईमा ढिला भएको हो ।

पर्वतमा गत वर्ष करिब २६ हजार ३३ मेट्रिक टन धान उत्पादन भएको थियो । पर्वतको फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा धेरै धान खेती हुने गरेको छ । यस क्षेत्रमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यू।एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिड लगायतका जातका धान लगाउने गरिएको छ ।