१६ असार, पर्वत । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा श्रम स्विकृति लिनुपर्ने कुरालाई प्रचार गर्नुपर्ने धारणा राख्नुभएको छ । सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयगत समिति र विषयगत शाखाहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख जोशीले विभिन्न प्रलोभनमा परी श्रम स्विकृति बेगर विदेशीका नेपालीहरुले चरम दुःख ब्यहोरेको बताउनुभयो । वैदेशिक रोजगारी नेपालीहरुको बाध्यता रहेको भन्दै यस्ता अवस्थामा श्रम स्विकृति नलिँदा राज्यबाट प्राप्त गर्नुपर्ने विभिन्न सुविधाहरुबाट धेरै नेपालीहरु बञ्चित हुनुपरेको धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले श्रम स्विकृतिका विषयलाई वडास्तरसम्म प्रचार गरेर सुरक्षित आप्रवानको सरकारको अवधारणालाई सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले श्रम स्विकृति जस्ता महत्वपूर्ण विषयमा नै कतिपय नेपालीहरु अन्यौलमा परेको बताउँदै यस्तो कार्यमा स्थानीय तहमा हुने सहजीकरणको विषय समेत ब्यापक रुपमा प्रचार हुनपर्ने धारणा ब्यक्त गर्नुभयो ।
पछिल्लो समय देश छाडेको संख्या बढिरहेको बेलामा पर्वत घर भएका ५ हजार ८ सय ७२ जनाले एक बर्षको अवधिमा औपचारिक रुपमा श्रम स्विकृति लिएका छन् । चालु आर्थिक बर्ष २०८१/८२ मा लिएको यो संख्या बर्षनी बढेर गएको छ । श्रम बजारको खोजीका लागि विदेशीने नेपालीहरुले औपचारिक रुपमा श्रम विभागबाट लिएको संख्या बाहेक पनि विदेशीनेको ठूलो संख्या छ । श्रम स्विकृति बेगर भिजिट भिषामा र शिक्षण भिषामा जानेको संख्या सरकारी तथ्यांकमा भेटिदैन् ।
जिल्लामा रहेका युवा शक्तिहरु यतिबेला देश छाडेर विदेश जाने दर बढेर गएको बेला चालु आर्थिक बर्षमा मात्रै थप १० हजार ६ सय १५ जनाले राहदानी निकालेका छन् । यी मध्ये ८ हजार ४ सय ४ जना श्रमबजारको खोजीमा विदेशी मनस्थितीमा रहेको सामी कार्यक्रमले जनाएको छ ।
सुरक्षित आप्रबासन सम्बन्धि पर्वतको कुश्मा,मोदी र पैयू गाउँपालिकामा सञ्चालन भईरहेको कार्यक्रमले सुरक्षित आप्रवास सम्बन्धि कामहरु गरीरहेको छ । विदेशीने मध्ये कुल ८ जनाको विदेशमा नै मृत्यु भएको छ ।
श्रम स्विकृति लिएर विदेश जाने बाहेको तथ्यांक सरकारसंग नरहने हुँदा बार्षिक रुपमा ७ हजार बढि पर्वतबासीहरुले देश छोडिरहेको तथ्यांक रहेको अनुमान गर्न सकिन्छ ।





