१३ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ र वडा न ५ जोड्ने लिस्तुङ खोलामा झोलुंगे पुल निर्माण भएको छ । मोदी गाउँपालिकाले निर्माण गरेको उक्त पुलको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभयो ।
पुलको उद्घाटन गर्दै अध्यक्ष शर्माले पुलका कारण स्थानीयहरुको दैनिकीमा थप सहज हुने विश्वास ब्यक्त गर्नुभयो । बर्षातको समयमा खोला वारपार गर्न जोखिम हुने गरेको विगतलाई सम्झाउँदै पुल निर्माणसंगै जोखिम कम भएको अध्यक्ष शर्माको भनाई थियो ।
कुल ७३ मिटर लम्बाईमा निर्मित झोलुंगे पुल निर्माणसगै लिस्तुन खोलाको यात्रा थप सहज भएको छ । गाउँपालिकाले कुल ४१ लाख ७१ हजार ९ सय २७ रुपैंयाको लागतमा उक्त पुलको निर्माण गरेको हो । पुल निर्माणको लागि सरकारको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको ३५ लाख ४६ हजार १ सय ३८ रुपैंयाको तथा उपभोक्ताको ८३ हजार ४ सय ३८ रुपैंयाको श्रमदानमा उक्त पुलको निर्माण कार्य सम्पन्न भएको हो ।
पुलको उद्घाटनको क्रममा मोदी गाउँपालिकाका पूर्व अध्यक्ष प्रेम पौडेल, वडाहरुको मानबहादुर अधिकारी, बेलबहादुर कार्की क्षेत्री लगाएतले पुल निर्माणले स्थानीयबासीलाई प्रत्यक्ष फाइदा पुगेको विषयमा आफ्नो धारणा राखेका थिए ।
पुल निर्माण समितिका अध्यक्ष चामबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शान्ति सुवेदीले गर्नुभएको थियो । पुल निर्माण कार्यको सामाजिक परिचालन तथा प्राविधिक सहयोग खुर्कोट युवा क्लबले गरेको हो ।




