Print

जलवायू परिर्वतन बारे जनचेतामूलक कार्यक्रम गर्दै बिहादी गाउँपालिका


९ जेठ,पर्वत ।
जिल्लाको विहादी गाउँपालिकाले जलवायू परिर्वतनका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । जलवायू परिर्वतनका कारण पछिल्लो समय बढ्दै गईरहेको जोखिमयूक्त मानवीय दैनिकलाई अनुकूलन गर्नका लागि जलवायू परिर्वतनको कारण, असर र यसबाट बच्ने उपायहरुको विषयमा जनचेतनामूलक कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाले वन, वातावरणको क्षेत्रमा विगत देखिको अभ्यासलाई निरन्तरता दिदै विद्यालय शिक्षा मार्फत जलवायू परिर्वतनका असरहरुको बारेमा वस्ती स्तरसम्म चेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले इनोभेसन मल्टिप्रपोज रिसर्च एण्ड कन्सल्टेन्टसंगको सहकार्यमा विद्यार्थी मार्फत वस्तीस्तरसम्म जलवायू परिर्वतनका कार्यक्रमहरु सञ्चालन गर्न लागेको हो ।

पछिल्लो समय जलवायू परिर्वतनको विषय राष्ट्रब्यापी बनिरहेको छ । जेठ २ देखि ४ गतेसम्म काठमाण्डौंमा सरकारले सगरमाथा सम्बाद सञ्चालन गरेको थियो । जलवायू परिर्वतनको हिमाली क्षेत्रमा पर्ने असरमाथि ध्यान केन्द्रित गर्ने, विश्व समुदायमा हुने जलवायूका नीति निर्माणमा हिमाली राष्ट्रहरुको आवाज समेट्ने लगाएतका विषयमा सरकारले समेत उक्त सम्बाद कार्यक्रमको आयोजना गरेको थियो ।

पछिल्लो समय जलवायू परिर्वतनका कारण कृषि क्षेत्रमा देखिएका परिर्वतनका कारण अन्न उत्पादनमा समेत बदलाव आइरहेको छ । गर्मि हुने र चिसो हुने दरमा भएको बृद्धिले मानवीय दैनिकीहरुमा परिर्वतन आएको छ । गाउँपालिका अध्यक्ष परविन गुरुङले जलवायू परिर्वतनमा नेपालको भूमिका निकै कम भए पनि यसको प्रत्यक्ष असर नेपालीहरुलाई परीरहेको बताउनुभयो । उहाँले विश्वको ध्यान नेपालमा आकर्षित गर्न जलवायू परिर्वतनको असरमा नेपालीहरु अनुकूलन हुनुपर्ने बाध्यतात्मक अवस्था सृजना भएको समेत बताउनुभयो ।

जलवायू परिर्वतनका कारण नेपालीहरुले भोग्नुपरेका सृजीत समस्याहरुलाई गाउँपालिकाले टोल बस्तीस्तरसम्म बुझाउने अभिप्रायका साथ जलवायू परिर्वतन सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी भुषाल बताउनुहुन्छ । कार्यक्रम अन्तर्गत आइतबार देखि विभिन्न सचेतनामूलक कार्यक्रमहरुको शुरुवात हुँदैछ ।