४ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिकाका सवै वडाहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको समिक्षा तथा आगामी आर्थिक बर्षको योजना छनौटका विषयमा वडास्तरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गाउँपालिकाका ८ वटा वडाहरुमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले गाउँपालिकासंग प्रश्नोत्तरसंगै सुझाबहरु समेत दिएका थिए । गाउँँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका योजनाहरु तथा कार्यक्रमसंगै सार्वजनिक सुनुवाई कार्यक्रममा सेवा प्रवाहका विषयमा समेत सहभागीले आफ्नो धारणा राखेका थिए ।
वस्ती तथा टोलका समस्याहरु समेत बुझने अवसरको रुपमा वडास्तरमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि सहभागीले प्रश्नहरु सोधेका थिए । मुख्य गरी बाँदर नियन्त्रण नहुँदा गाउँमा ठूलो समस्या आएका विषय सहभागीहरुले कार्यक्रममा ब्यक्त गरे । बाँदर आतंकले कृषिजन्य वस्तुहरु लगाउन समस्या परेको तथा वस्तीहरुमा बाँदर आतंक बढ्दै गएको प्रति स्थानीयबासीको चिन्ता थियो । रित्तिदै गएको गाउँलाई भरिभराउ गराउनका लागि सन्तान उत्पादनमा जोड् दिनुपर्ने कतिपय सहभागीले माग समेत गरेका थिए । ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनको भाडादर उच्च रहेका भन्दै गाउँपालिकाले भाडादर समायोजन र नियन्त्रण गर्नुपर्ने समेत कार्यक्रमका सहभागीहरुको माग रहेको थियो ।
निशुल्क प्रदान गर्नुपर्ने औषधिहरु समयमा नै उपलब्ध गराउनुपर्ने माग राखेका सहभागीहरुले कृषिजन्य विउँविजनहरु वडास्तरबाट नै वितरण गर्नुपर्ने माग राखेका छन् । भौतिक पूर्वाधारसंगै सामाजिक विकासका कतिपय अवधारणाहरुलाई परिर्वतन गर्नुपर्ने माग राखेका वडाबासीहरुले खस्कदै गएको शिक्षा क्षेत्र प्रति गहिरो चिन्ता ब्यक्त गरेका छन् ।
सरकारी बिद्यालयहरुमा शैक्षिक अवस्था सुधारको आवश्यकता औल्याएका वडाबासीहरुले सचेतनामूलक कार्यक्रमहरु वडास्तरहरुमा पनि सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
प्राकृति श्रोत, साधनको उचित प्रयोग गर्नुपर्ने माग राखेका मोदीबासीहरुले कृषक राहतमुखी कार्यक्रम ल्याउन समेत गाउँपालिकालाई अनुरोध गरेका छन् । कार्यक्रममा सम्बन्धित वडाअध्यक्षहरुले वडाको विकास आयोजनाहरुको विषयमा सहभागीहरुको प्र्रश्नको उत्तर दिएका थिए ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी लगाएतले सहभागीहरुको धारणा सुनेपछि गाउँपालिकाको नीति र आगामी कार्यक्रमहरुको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका विषयगतशाखाका प्रमुखहरु दिनेश शर्मा, उमेशकुमार अधिकारी, इ.नविन शाही लगाएतले सहभागीहरुको प्रश्नको शाखागत रुपमा उत्तर दिएका थिए ।
वडाबासीहरुको आवश्यकता, गुनासो र मागका आधारमा आगामी बर्षको बजेट, नीति तथा कार्यक्रम निर्माण गर्न आफूहरुलाई थप सहज भएको गाउँपालिका अध्यक्ष शर्माको भनाई छ ।




