Print

भुकदेउराली र देउपुरमा मोदीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


२७ वैशाख, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले वडा न १ भुकदेउराली र वडा न २ देउपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा आगामी आर्थिक बर्षको योजना छनौटका लागि सुझाबहरु संकलन समेत गरिएको थियो । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले गाउँपालिकाले चालु आर्थिक बर्षमा प्रवाह गरेका सेवा र सञ्चालन गरेका आयोजनाकहरुको विषयमा आफ्नो आफ्नो धारणा ब्यक्त गरेका थिए ।

गाउँपालिकाले चालु बर्षको समिक्षा सहित आगामी बर्षको योजना छनौट, नीति तथा बजेट योजना निर्माणको लागि वडाबासीहरुसंग सुझाब संकलन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

सार्वजनिक सुनुवाईको क्रममा सहभागीहरुले गाउँपालिकाले बाँदर नियन्त्रणलाई प्राथमिकतामा दिनुपर्ने धारणा ब्यक्त गरेका छन् । खानेपानी, सडक, सिंचाई र कृषि क्षेत्रका प्रश्नहरु मार्फत सहभागीहरुले गाउँपालिकासंग यी विषयमा ठोस जवाफ मागेका थिए ।

गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले सहभागीहरुको प्रश्नहरुको उत्तर दिदै आगामी दिनमा गाउँपालिकाले नीति, बजेट तथा कार्यक्रम तय गर्दा वडाबासीहरुको सुझाबलाई आत्मसाथ गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । अध्यक्ष शर्माले सिमित श्रोत र साधनका वीचमा असिमित आवश्यकताहरु पुरा गर्न गाउँपालिकालाई गाहे भईरहेको समेत उल्लेख गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले स्थानीय तहको शासन प्रक्रियामा पारदर्शीता, कानूनी शासन र जवाफदेहिता रहनुपर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले असल प्रशासन, कुशल सेवा प्रवाह र कानूनी राज्यको प्रत्याभूति स्थानीय समुदायले प्राप्त गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।

सहभागीहरुले उठाएका विषयमा अध्यक्ष शर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरीसंगै विषयगत शाखाका प्रमुखहरुले समेत जवाफ दिनुभएको थियो । सामाजिक विकास शाखाका प्रमुख दिनेश शर्माले शिक्षा र मानव विकाससंग सम्बन्धित प्रश्नहरुको उत्तर दिनुभएको थियो । कार्यक्रममा पूर्वाधार विकास शाखाका प्रमुख नविन शाही, स्वास्थ्य शाखाका प्रमुख उमेश अधिकारी, स्वास्थ्य शाखाका सुस्मिता पौडेल, कृषि शाखाको तर्फबाट सुष्मा सापकोटा लगाएतले सहभागीहरुको प्रश्नको उत्तर दिनुभएको थियो ।

वडा न १ का वडाअध्यक्ष टेकबहादुर गुरुङ र वडा न २ का वडाअध्यक्ष बेलबहादुर कार्कीले सहभागीहरुको प्रश्नको उत्तर दिनुभएको थियो । वडा न १ का वडा सचिव रुद्रप्रसाद शर्मा र वडा न २ का वडा सचिव गायत्री शर्माले बार्षिक कार्यक्रम र सेवा प्रवाहको अवस्था प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार गणेश गिरीले गर्नुभएको थियो ।