Print

पर्वतमा नीजि विद्यालय खुले, सरकारी शिक्षकको आन्दोलनले विद्यार्थी अन्यौलमा


७ वैशाख, पर्वत । नयाँ शैक्षिक शत्रको लागि पर्वत स्थित नीजि विद्यालयहरु सञ्चालनमा आएका छन् । उता, सरकारी विद्यालयका शिक्षकहरुको आन्दोलनका कारण सरकारी विद्यालयका बिद्यार्थीहरु भने अन्यौलमा परेका छन् ।

सरकारी तलबधारी शिक्षकहरु नै विद्यालय बन्द गरेर सडकमा उत्रिएपछि नयाँ शैक्षिक शत्रमा भर्ना अभियान अलपत्र परेको छ । विद्यालयको गुणस्तर खस्कदै गएको बेलामा शैक्षिक गुणस्तरमा भन्दा आफ्ना मागहरु राखेर आन्दोलनमा उत्रिएका शिक्षकहरुका कारण पर्वतका संस्थागत विद्यालयमा भर्ना अभियान नै अलपत्र परेको छ । नयाँ भर्ना अभियान सञ्चालन गर्ने, नयाँ पाठ्यपुस्तक वितरण गर्ने तथा नयाँ शैक्षिक शत्रको कार्ययोजना निर्माण गर्ने बेलामा शिक्षकहरुले विद्यालय नै बन्द गर्ने जस्तो अलोकप्रिय निर्णयको विद्यालय ब्यवस्थापन समितिहरुले भने विरोध गरेका छन् ।

आफ्ना माग सरकारसंग राख्न पाउने शिक्षकको अधिकार भए पनि विद्यालय नै बन्द गर्ने काम गलत रहेको कतिपय अभिभावकहरुको आवाज छ । उता, मंगलोदय माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार क्षेत्रीले एक विज्ञप्ति नै प्रकाशन गरी आन्दोलनमा नगएका शिक्षकहरुलाई नियमित विद्यालयमा आउन आग्रह गरेका छन् ।

विद्यालय बन्द गरेर सरकारी बेतन खाएका शिक्षकहरु घरमा आराम गरेर बस्दा विद्यार्थीहरुको भविश्य चौपट भएको अभिभावकहरुको गुनासो पछि ब्यवस्थापन समितिहरुले विद्यालय खुलाउन पहल गरेका हुन् । क्षेत्रीले प्रकाशन गरेको विज्ञप्तिमा शिक्षकका मागहरु प्रति एक्यबद्धता जनाउँदै आन्दोलनकै समयमा पनि विद्यालय सञ्चालन गर्न अनुरोध गरेका हुन् ।

पर्वतमा सरकारी विद्यालयहरुमा बर्षेनी विद्यार्थीको संख्यामा गिरावट मात्र आएको छैन् कतिपय विद्यालयहरुको बार्षिक नजिता पनि खस्कदै गएको छ ।