Print

सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रयास


४ वैशाख, पर्वत । समाजमा ब्याप्त कुरीतिहरुको अन्त्य गर्न पर्वतका विभिन्न वडाहरुमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । अझैपनि समाजमा रहेका गलत मान्यता, परम्परतालाई अवलम्बन गर्ने नाममा भइरहेका सामाजिक ज्यादतीका बिरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिएको हो । कुश्मा–१३ खौलालाकुरी, जलजला–५ लेखफाँट र बिहादी–२ बर्राचौरमा स्थानीय सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको बिचमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

बिहादीमा आयोजित कार्यक्रममा बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले लामो समयदेखि समाजमा ब्याप्त रहेको कुरीति हट्न समय लाग्ने बताए । ‘सामाजिक कुरीति हटाउनका लागि निरन्तर लाग्नुपर्छ, प्रयाससंगै बिस्तारै हट्दै जान्छ, अहिलेको अहिल्यै हट्नुपर्छ भनेर हट्ने बिषय होइन’ अध्यक्ष गुरुङले भन्नुभयो–‘मान्छेको चेतनास्तरमा परिवर्तनले नै कुसंस्कार हटाउन सघाउने हो ।’ उहाँले आफुले आफ्नो जातीबाटै गलत संस्कार र परम्परा हटाउन लागिपरेको पनि जानकारी दिनुभएको थियो ।

अझैपनि समाजमा बालविवाह, दाइजोप्रथा, छाउपडी, बोक्सी आरोप, जातीय विभेद, लैङ्गिक हिंसाजस्ता सामाजिक विकृति र कुरीतिहरु कायम रहेको र यी समाजको विकास र समृद्धिका बाधक भएको त्यहाँ उपस्थित सहभागीले धारणा राखेका थिए । बिहादी गाउँपालिकाका उपाध्यक्ष मिना शर्मा तिवारीले जबरजस्ती भन्दा मानविय चेतना बढाएर गलत मान्यता र परम्परा हटाउनुपर्नेमा जोड दिनुभएको थियो ।

बिहादी २ का वडा अध्यक्ष गणेश शर्मा पौडेलले कतिपय घटनाले वडामा सिफारिस गर्न, घटना दर्ता गर्नसमेत समस्या आउने गरेको बताउनुभयो । ‘नेपालको कानुनले २० बर्ष पुगेपछि मात्रै विवाह गर्ने अनुमति दिएको छ, तर १४÷१५ बर्षमै बच्चा जन्मिएर जन्मदर्ता दिनुपरेको छ, जन्मदर्ता गर्न विवाह दर्ता गरिदिने की नगर्ने’ पौडेलले भन्नुभयो । अझैपनि मानविय चेतनास्तर बढाउन आवश्यक रहेको र यस्ता कार्यक्रमले सघाउने धारणा राख्नुभयो ।

कुश्मा–१३ का वडा अध्यक्ष तेजप्रसाद शर्माले पनि हरेक मानवमा मनदेखि नै सुधार गर्छु भन्ने भावना आउनुपर्नेमा जोड दिनुभएको थियो । जलजला–५ का अध्यक्ष तिलकबहादुर जिसीले पछिल्लो समयमा गलत मान्यतामा केही सुधार आएपनि सचेतना निरन्तर हुनुपर्ने बताउनुभयो । तीन वटै वडामा सहभागी भएका टोल विकास समिति, जनप्रतिनिधि, स्थानीय आमा समुह, संघसंस्थालगायतले अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सामाजिक विकास कार्यालयलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख गोबिन्द पौडेलले सामाजिक कुरीति अन्त्य गर्न सवैको हातेमालो आवश्यक रहेको बताउनु भयो । उहाँले तुलनात्मक रुपमा कुरीतिहरु कम हुँदै गएपनि अझै पनि कुरीतिहरुको निर्मूल नभएको बताउनु भयो ।

जि एण्ड जि मिडिया प्रा.लिले आयोजना गरेको कार्यक्रममा पत्रकार गणेश गिरीले सहजीकरण गर्नुभएको थियो । पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले कार्यक्रमको औचित्य र उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । सामाजिक विकास कार्यालयका लेखा अधिकृत जगत नेपाली र प्रशासन शाखा प्रमुख बालकृष्ण शर्माले सामाजिक कुरीति विरुद्धको अभियानमा सवैले सकारात्मक पहल गर्न अनुरोध गर्नुभएको थियो । जिल्लाका विभिन्न वडाहरुमा सञ्चालीत सचेतनामूलक कार्यक्रम सञ्चालनको लागि सामाजिक विकास कार्यालयले सहयोग गरेको थियो ।