१६ माघ, पर्वत । पर्वतमा अवैध लागु औषधको कारोबार बढ्दो क्रममा रहेको देखिएको छ । गएको त्रिवर्षीय तथ्याङ्क आकलन गर्दा पर्वतमा लागु औषधको कारोबार बढ्दो क्रममा देखिएको हो । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै पर्वत प्रहरीले अवैध लागू औषध ओसारपसारमा संलग्न ७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती ७ जना व्यक्तिबाट विभिन्न प्रकारका ६ सय ७२ एम्पुल अवैध लागू औषध समेत बरामद गरेको छ ।
बरामद भएको लागू औषधको यो परिणाम अघिल्ला आर्थिक वर्ष २०७९।०८० र ०८०।०८१ को भन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९।८० मा ११ जना कारोबारीलाई नियन्त्रणमा लिई ६ सय १९ थान विभिन्न प्रकारका लागू औषध बरामद गरेको थियो भने ०८०।८१ मा २ जना पूरुष २ सय १५ थान लागू औषध नियन्त्रणमा लिएको थियो ।
पछिल्लो समय अवैध लागू औषधको कारोबार रोकथाममा प्रहरीले सक्रियता बढाएपछि बरामद हुने लागू औषधको परिणाम बढेको हो । लागू औषध कारोबार गर्ने व्यक्तिहरूले युवतीहरूको प्रयोग गरेर कारोबार गर्ने समेत पाइएको छ । चालु आर्थिक वर्षमा पक्राउ परेका ७ जना मध्ये ५ जना महिला मात्रै रहेका छन् । तीन बर्ससम्मको तथ्याङ्क हेर्ने हो भने पक्राउ परेका २० जना मध्ये ६ जना महिला रहेका छन् ।
प्रहरीले दिएको तथ्याङ्क अनुसार पोखरा बागलुङ सडक मार्ग भित्र अवैध कारोबार बढी भएको पाइन्छ । पर्वतका सात स्थानीय तह मध्ये मुख्य सडक मार्गले छोएका कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाबाट कारोबारीहरू प्रहरी फन्दामा परेका छन् । अन्य पालिकाबाट भने लागू औषध कारोबारीहरू नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
पछिल्लो समयमा नियन्त्रणमा आएका लागू औषध कारोबारीहरूबाट विभिन्न सूचनाहरू प्राप्त भएका कारण अझै धेरै यसको कारोबार गर्नेलाई नियन्त्रणमा लिन सकिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख रविन विष्टले जानकारी दिनुभयो ।
लागू औषधका कारोबारीहरूलाई खोजी गर्ने अभियान प्रहरीले सञ्चालन गरे पनि अरू निकायको भने यसमा ध्यान गएको देखिदैन् । लागू औषध दुब्यर्सनीका कारण कतिपय आपराधिक घटनाहरूमा समेत वृद्धि भएको प्रहरीको तथ्याङ्क छ ।
पत्रकार सन्तोष थापाले नेपाल टेलिभिजनका लागि लेखेको समाचार साभार गरिएको हो ।