१५ माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिका–४ मा लेस्पारका २ सय १६ घरमा नयाँ धारा जडान गरिएको छ । जिल्लाकैे प्रसिद्ध पर्यटकीय गाउँ लेस्पारमा एक घर एक धारा विस्तार गरिएको हो ।
लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन । कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा उक्त धाराहरु जडान भएका हुन् । मंगलबार एक कार्यक्रमका वीच लेस्पार खानेपानी योजना, मोदी गाँउपालिका ४, पर्वतको उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।
गाउँपालिका अध्यक्ष शर्मा र कादुरी च्यारिटेबल फाउण्डेसन, हङकङका पिटर पाउल डि ग्रुटेज्युले धाराको संयुक्त रुपमा उदघाटन गरेका छन् । कादुरी संस्थाका डाईरेक्टर कर्नेल एन्ड्रियू मिल्ज, कादुरी एग्रीकल्चरल एड एशोसिएशन, नेपालका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङ लगाएतको सहयोगमा धारा जडान भएको हो ।
धाराको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले सरकारको एक घर एक धारा कार्यक्रमलाई आयोजनाले सहयोग पुराएको भन्दै धन्यवाद ब्यक्त गरे । वर्षौदेखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको अध्यक्ष शर्माले उल्लेख गरेकी छिन् ।