Print

कुश्मामा पर्यटकको चहलपहल बढ्यो

३ कार्तिक, पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादशैँ पछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। बडादशैँ मनाएर बिदामा घुम्न आउने पर्यटकको चहलपहल बढेको हो। विभिन्न संघसंस्थामा अवलोकन भ्रमणको गन्तव्य पर्वत सदरमुकाम कुश्मा बनेको छ। कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ।

दशैँतिहारजस्ता चाडबाडका कारण पर्यटक बढी भित्रिएका हुन्। हिउँदसमेत शुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन्। विगत वर्षमा आन्तरिक पर्यटकमात्र आउने कुश्माका पर्यटकीयस्थलमा पछिल्लो समय बाह्य पर्यटकको सङ्ख्या बाक्लिन थालेको होटल ड्रागनका सञ्चालक सुरेश केसीले जानकारी दिए। उनका अनुसार पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन्।

पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधा सम्पन्न होटल थपिन थालेका छन्। मुस्ताङ तथा उपल्लो मुस्ताङ र कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको होटल सञ्चालकहरु बताउँछन् ।

कुश्मामा मुस्ताङ जाने पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङको संख्या बढेको छ । नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलबस्तुलगायत क्षेत्रबाट शैक्षिक संघसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक संघसंस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढेको छ ।

दशैँलगत्तै सदरमुकामका होटल भरिभराउ रहेको जनाइएको छ। बञ्जीजम्प र जीपलाइनमा एक हप्ताअघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकहरुले बताएका छन्। अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाका दिनमा पर्यटकको चाप बढी हुने गरेको भए पनि यतिबेला लामो सरकारी बिदा भएकाले नियमित जसो भीडभाड हुन थालेको एड्भेन्चर रिर्सोटका सञ्चालक सुनीलसिंह बानियाँले जानकारी दिए।

यो वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्यमात्रामा आउन थालेका छन् । दैनिक १०० भन्दा बढीले बञ्जी तथा स्वीङ गर्ने गरेको र त्यसकै हाराहारीमा पिङ, रक क्लाइम्बिङ र साइक्लिङ गर्ने गरेको पर्यटन सम्बद्ध ब्यवसायीहरुको भनाई छ ।