२ असोज, पर्वत । कार्यावधि नपुग्दै पर्वतका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा हुँदा सेवा प्रवाहमा समस्या पर्ने गरेको छ । जिल्लाका धेरै जसो स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु सामान्यतः २ बर्ष अवधि नपुग्दै सरुवा हुने गरेका छन् ।
कुनै पनि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका कार्यावधि कम्तिमा २ बर्ष मानिएता पनि धेरै जसो स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले भने कार्यवधि पुरा गरेको देखिदैन ।
गत ६ महिना अघि मात्रै कुश्मा नगरपालिकामा सरुवा भएर आएका घनश्याम गौतमको कुश्मा नगरपालिकाबाट मन्त्रालयले सरुवा गरेको छ । नगरपालिकालाई जानकारी नदिइ गरिएको सरुवा प्रति नगरपालिकाका पदाधिकारी समेत र स्वयम् गौतम समेत बेखर रहेको बताईन्छ । जिल्लाकै ठूलो र पहिलो नगरपालिकामा यस अघि पनि समयअवधि नपुग्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गर्दै आइरहेको थियो । नगरपालिकाका पदाधिकारीले कार्यवधि नपुग्दै गरिएको गौतमको सरुवा प्रति आश्चर्य प्रकट गरेको छ । कुश्मा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेत्र पौडेललाई मन्त्रालयले सरुवा गरेको नगरपालिका श्रोतको भनाई छ ।
उता, ५ महिना अघि मात्रै फलेवास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका नारायणप्रसाद आचार्यको पनि सरुवा भएको छ । आचार्य हुलाक निर्देशनालय पोखरा सरुवा भएका छन् । आचार्यको सरुवा पछि फलेवास प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको छ । मन्त्रालयले फलेवासमा अर्को प्रमुख प्रशासकीय अधिकृत खटाएको छैन् । आचार्य आफैले सरुवा मागेर नगरपालिका छोडेको नगरपालिका श्रोतको भनाई छ ।
जिल्लाको विहादी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा गत बर्ष मात्रै मन्त्रालयले स्वास्थ्य शाखा प्रमुख हरी भुषाललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो । गत आर्थिक बर्ष भुषालले उक्त जिम्मेवारी सम्हाले पनि चालु आर्थिक बर्षको भदौ महिनामा मन्त्रालयल ऋषीराम घिमिरेलाई सरुवा गरेको छ । घिमिरेले पालिकामा हाजिर भईसकेका छैनन् ।
उता, गत बर्ष मात्रै सरुवा भएर पैयू गाउँपालिकामा आएको प्रमुख प्रशासकीय अधिकृत राजीब रिमालको पनि सरुवा भएको छ । पैयूमा १ बर्ष अवधि विताएका रिमालको सरुवा भएपछि जीवन गैरेले कार्यभार सम्हालेका छन् ।
जलजला गाउँपालिका पनि गत बर्ष प्रमुख प्रशासकीय अधिकृत विहिन भएपछि लेखा अधिकृत फणिन्द्र आचार्यलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत तोकेका थियो । आचार्यले १ बर्ष उक्त जिम्मेवारी पुरा गरेपछि पुनः जलजलामा नेत्रप्रसाद पोख्रेललाई मन्त्रालयले पदस्थापना सहित प्रमुख प्रशासकीय अधिकृत तोकेको छ ।
मोदी गाउँपालिकामा गत बर्ष मात्रै विहादी गाउँपालिकाबाट सरुवा भएका रामप्रसाद शर्माको पनि सरुवा भएको छ । मोदीमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बाबुराम पुरीले कार्यभार सम्हालेका छन् ।
सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सरुवा, काज तथा कामकाज सम्बन्धि मापढण्ड २०८१ मा प्रमुख प्रशासकीय अधिकृतलाई कम्तिमा २ बर्ष सेवा अवधि हुने ब्यवस्था गरेको छ ।
कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरुका कारण पनि कर्मचारीको सरुवा हुने गरेको पाइन्छ । राजनैतिक आस्था, प्रतिसोध र कतिपय अवस्थामा कर्मचारी लामो समय एकै ठाउँमा बस्न नचाहने भएका कारण पनि स्थानीय तहमा कर्मचारीहरुको सरुवा मनलाग्दी हुने गरेको भेटिन्छ । सेवा अवधि बाँकी रहँदै कर्मचारीको सरुवा हुँदा स्थानीय तहमा भने कार्यसम्पादनमा समस्या पर्दै आइरहेको छ ।




