३० भदौ, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा १ भुकदेउरालीलाई बालमैत्री वडा घोषणा गरिएको छ । एक कार्यक्रमका वीच गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले उक्त वडालाई बालमैत्री वडा घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै बस्यालले बालबालिकालाई राम्रो संस्कार दिन सकेको खण्डमा भोली सभ्य नागरिक उत्पादन हुने बताए । उनले बालबालिकालाई दिने शिक्षाले नागरिकको राज्य प्रतिको दायित्व बोध पनि गराउनुपर्ने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य भक्त कुँवरले पनि आफ्नो धारणा राखेका थिए । जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, गाउँपालिका उपाध्यक्ष बिमल लामिछाने, वडा अध्यक्ष टेकबहादुर गुरुङ लगाएतका उपस्थित अतिथिहरुले बालमैत्री वडा घोषणा भएकोमा खुशी ब्यक्त गर्दै यसलाई दिर्घकालीन रुपमा बालबालिका प्रति गर्ने ब्यवहारमा परिर्वतन गर्नुपर्ने धारणा राखेका थिए ।




