Print

पर्वतमा गर्भपतन गराउनेको संख्या उच्च


२६ भदौ, पर्वत । जिल्लामा गर्भपतन गराउने महिलाहरुको संख्या उच्च रहेको देखिएको छ । स्वास्थ्य कार्यालय पर्वतले सार्वजनिक गरेको तथ्यांकले यस्तो संकेत गरेको हो । कार्यालयले बार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार पर्वत जिल्लामा गत आर्थिक बर्षमा मात्र ८ सय ३० जना महिलाले स्वास्थ्य संस्थामा नै गएर गर्भपतन गराएका थिए । यो संख्या अघिल्लो आर्थिक बर्षको तुलानामा कम भए पनि प्रसुति सेवा लिने महिलाको संख्याको तुलनामा यो संख्या बढि हो ।

सरकारी स्वास्थ्य संस्था बाहेक मेरी स्टोभमा गएर गर्भपतन गराउनेको संख्या पनि अधिक देखिन्छ । कुश्मा स्थित मेरी स्टोभका अनुसार गत आर्थिक बर्षमा ३ सय ९० जनाले गर्भपतन गराएका थिए । यसरी हेर्दा पर्वत जिल्लामा कुल १ हजार २ सय २० जनाले बर्षभरीमा गर्भपतन गराएका थिए ।

स्वास्थ्य कार्यालयका अनुसार सवैभन्दा धेरै गर्भपतन गराउनेको संख्या कुश्मा नगरपालिकामा छ । कुश्मा पछि पैयू गाउँपालिकामा र फलेवास नगरपालिका दोस्रो स्थानमा छन् । दम्पत्तिले नचाहादा नचाहदै गर्भरहेमा निश्चित अवधि भित्र गर्भपतनको सुविधा सरकारी स्वासथ्य संस्थाहरुबाट लिन सकिन्छ । पछिल्लो समय भने असुरक्षित र अवैध यौन सम्बन्धबाट रहेको गर्भहरुलाई समेत अस्विकार गरी महिलाहरुले गर्भपतन गराउने गरेका छन् ।

बर्षभरीमा गत ५ सय ५१ महिलाले जिल्ला स्थित स्वास्थ्य संस्थाहरुबाट प्रसुति सेवा लिएका थिए । प्रसुति सेवा लिने भन्दा गर्भपतन गराउनेको संख्या पर्वत जिल्लामा अधिक देखिन्छ । स्वास्थ्य कार्यालयले बार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत गरेको यस्तो तथ्यांकले सुरक्षित यौन सम्बन्धको सचेतना अझै पनि ब्यापक रुपमा वस्तीस्तरसम्म नपुगेको देखिन्छ ।