८ साउन, पर्वत । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले प्रदेशका सवै पालिकाहरुले ध्यान तथा योग शिविर सञ्चालन गर्न आग्रह गरेका छन् । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत मेडिटेसन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्य मन्त्री पाण्डेले सवै पालिकाहरुले ध्यान योग शिविर आयोजना गरेमा प्रदेश सरकारले पनि साझेदारी गर्ने बताएका हुन् ।
मुख्य मन्त्री पाण्डेले पछिल्लो समयमा मानिसहरुमा आएको नकारात्मक सोचका कारण समाज भाडिँदै गएको बताउँदै योग र ध्यानको माध्यमबाट मानिसलाई सहि मार्गमा ल्याउन सकिने बताए । उनले गण्डकी प्रदेशमा मात्रै दैनिक ३ जनाले आत्महत्या गर्ने गरेको बताउँदै यसको न्यूनिकरणका लागि पनि योग र ध्यान तथा मेडिटेशनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी तथा मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले आफ्नो धारणा राखेका थिए ।
बह्मकुमारी इश्वरीय विश्वविद्यालयले आयोजना गरेको तालिम ५ दिनसम्म चल्नेछ ।