Print

नदी दोहनले मृत्यु संस्कार समस्यामा


१८ जेठ, पर्वत । जिल्लाको बर्राचौर क्षेत्रमा दशनामी जाती मध्ये गिरी र पुरीको संख्या ठूलो छ । सरकारले दशनामी वर्गमा सुचिकृत गरेको जाती मध्ये गिरी र पुरी पनि हो । आदिम कालदेखि सन्यासी वर्ग अन्तर्गत पर्ने अल्पसंख्यक गिरी र पुरीको धार्मिक मृत्यु संस्कार पनि आफ्नै खालको छ । नदी किनारमा हुने मृत्यु संस्कार भने यति बेला कालीगण्डकी नदी दोहनले समस्या भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

विहादी गाउँपालिका वडा न २ बर्राचौरका स्थानीयले कालीगण्डकी नदी निरन्तर दोहन भईरहँदा मृत्यु संस्कारमा समस्या परेको बताए । स्थानीय यादब गिरीले नदीमा पाइने ढुंगाको निकासी निरन्तर भईरहेको प्रति दुःख ब्यक्त गरे । उनले अवैध तरिकाले चोरी निकासी गरेर नदीका ढुंगा निकासी हुँदा आफूहरुको मृत्युसंस्कार समस्या परेको बताए । सम्बन्धित निकायले अनुगमन र नियन्त्रण नगर्दा कालीगण्डकी नदीका ढूंगाहरु निकासी भईरहेको उनको भनाई छ ।

गिरी जातीले मृत्यु संस्कारको अत्यष्टि मृत्यु भएका मानिसको लासलाई ढुंगाले पूर्ने गरेको बताउँदै गिरीले भने–‘नदीका ढुंगा सवै निकासी हुँदै गएका छन् ।’ यसले आफूहरुको मृत्यू संस्कारमा समस्या परेको गिरीको भनाई छ ।

पछिल्लो समय कालीगण्डकी नदीको उत्खनन्को दर उच्च भईरहेको छ । नदी किनारमा रहेका ढुंगा र बालुवा निकासीको क्रम रोकिएको छैन् । विहादी गाउँपालिकाको बर्राचौर क्षेत्रबाट नदी किनारमा जाने सडक खनिएपछि नदी दोहनको दर अझै उच्च छ ।

वडा न २ बर्राचौरका वडाअध्यक्ष गणेश शर्मा पौडेलले सार्वजनिक सम्पत्तिको संरक्षणको जिम्मेवारी स्थानीय तहको भएकाले यसको नियन्त्रण र अनुगमन गरिने बताए । उनले अवैधानिक तरिकाले नदी दोहन भईरहेको भन्दै यसको रोकथाममा सम्बन्धित निकायहरु मार्फत पहल गरिने प्रतिबद्धता ब्यक्त गरे ।

गिरी जातिको मृत्यु संस्कार नदी किनारसंग जोडिएको छ । नदी किनारमा मृत्यु भएका मानिसको शवलाई गाडेर उनीहरुले समाधि प्राप्त गर्दछन् । पछिल्लो समय केहि ठाउँका गिरी समुदायले शवलाई जलाउने गरे पनि बर्राचौर क्षेत्रमा अझै पनि शवलाई गाड्ने प्रचलन रहेको छ । नदी दोहनका कारण किनारको बालुवाहरु रित्तिने ढुंगाहरुको निर्यात बढ्ने गर्दा त्यसले मृत्युको अन्तिम संस्कारलाई समेत प्रभावित पार्ने गरेको स्थानीयबासीहरुले गुनासो गरेका हुन् ।

पछिल्लो समय जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिका क्षेत्र हुँदे बहने कालीगण्डकी नदीको उत्खनन्को दर बढेर गएको छ । नियामन निकायको नियमन नहुँदा नदीको अस्तित्व संकटमा परेसंगै स्थानीयले नदी संरक्षण अभियान समेत सञ्चालन गर्दै आइरहेका छन् ।