Print

खौलाबासीको माग : सडक भन्दा पहिला खानेपानी दिनुहोस्


१८ जेठ, पर्वत । कुश्मा नगरपालिका १३ को बाक्लो बस्ती भित्र चुल्हे बालेपछि पानीको पिरलो हुन्छ । पानी खोज्न गाग्री लिएर फेदी देखि डाँडासम्म घुम्नुपर्छ । प्रजातन्त्र आयो, गणतन्त्र आयो देशमा संघीयता आयो । तर, खौलामा अझै पानी आएन् ।

पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार नजिकैको बस्ती खौलाबासीले अझै खानेपानीको हार गुहार गरीरहेका छन् । आयोजनाहरु शुरु भए, बन्द भए, धारा बने, ट्याङकी बने, तर अझै आँगनमा पानी आएन् । स्थानीय मनोज शर्माले गाउँलेको सामूहिक माग राख्दै भने–‘आश्वासनले मात्र धारामा पानी आएन ।’

कुश्मा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सवैजसो सहभागी बक्ताहरुले खानेपानीको चरम अभाव रहेको विषय उठाए । स्थानीय हर्कबहादुर कार्की क्षेत्रीले ५ करोड बढिको लागत स्टिमेट भएको योजना अझै पुरा नभएको भन्दै दुःख ब्यक्त गरे । स्थानीय सागर कार्कीले खानेपानीको समस्या हुँदा गाउँमा घर भए पनि बस्न नसकिएको बताए ।

सोनिया परियारले पानी बोक्न हिड्ने समयका कारण घरमा महिलाहरुले अझै धेरै सास्ती बेहोरेको बताईन् । राज्य ब्यवस्था बदलियो तर खौलाबासीको खानेपानीको चाहना अझै पुरा भएको छैन् ।

दलित वर्गको बाहुल्यता रहेको उक्त गाउँका धेरै बस्तीमा अझै खानेपानीको सहज पहुँच पुगेको छैन् । स्थानीय तेज सुनार भन्छन्–‘हामी माथि राज्यको उपेक्षा धेरै भयो ।’उनले थपे –‘खानेपानीको माग लिएर कहाँ कहाँ जाने हो ?’

खौलामा पानीको श्रोतको पहिचान गर्न गाह्रो भएका कारण खानेपानी आयोजना अझै पुरा नभएको वडाअध्यक्ष तेजप्रसाद शर्मा बताउँछन् । उनले कतिपय चालु आयोजनाहरुमा बजेटको समेत अभाव रहेको बताए ।

नगरप्रमुख रामचन्द्र जोशीले नगरपालिका क्षेत्रमै खानेपानीको चरम अभाव हुनुमा राज्यको कमजोरी रहेको स्विकार गरे । उनले पानीको मूल खोज्न धेरै प्रयास गर्दा पनि मूलको सुनिश्चितता नभएका कारण पनि आयोजना अझै पुरा नभएको बताए ।

स्थानीयबासी र छिमेकी वडाबासीसवै मिलेर खानेपानीको समस्या समाधान गर्नुपर्ने जोशीको धारणा थियो । उनले पानीको श्रोत खोजी भएमा बजेट अभाव हुन नदिने गरी खानेपानीका आयोजनाहरु सुचारु गरिने बताए ।

सडक बनेको छ, विद्यालयका भवन बनेका छन् । सुविधाहरु थपिएका छन् । बजार झरेकाहरु गाउँ फर्कने मनस्थितीमा छन् । तर, गाउँमा पानी छैन् । उपप्रमुख स्वस्थानी रिजालले समस्या समाधानमा सवै मिलेर पहल गर्नुपर्ने धारणा राखिन् । खानेपानीको अभाव बेहोर्दै आइरहेका खौलाबासीले सडक भन्दा पहिला खानेपानीको आयोजना बनाउन स्थानीय सरकारसंग माग गरेका छन् ।