Print

वडाबासीको सुझाब लिएर आगामी बजेट बनाउँदै बिहादी गाउँपालिका


१८ जेठ, पर्वत । आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको चटारो शुरु भएको छ । संघीय सरकारको बजेट सार्वजनिक भएसंगै प्रदेश र स्थानीय तह पनि आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारीमा जुटेका छन् ।

संघ र प्रदेशको बजेट सार्वजनिक भएपछि असार १० गते भित्रमा स्थानीय तहहरुले बजेट निर्माणको कार्य अगाडि बढाउनुपर्ने संवैधानिक ब्यवस्था छ । सोहि ब्यवस्था बमोजीम स्थानीय तहले आगामी बर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । यति बेला जिल्लाको विहादी गाउँपालिका वडाबासीहरुको सुझाब संकलनमा जुटिरहेको छ ।

गाउँपालिका अध्यक्ष परविन गुरुङले वडाबासीले दिएको सुझाबका आधारम आगामी बर्षको बजेट निर्माण गरिने बताए । उनले प्रत्येक वडामा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा सुझाबहरु लिखित रुपमा नै संकलन गरिएको जानकारी दिए । प्राप्त सुझाबहरुलाई अध्ययन गरेपछि वडाहरुमा कस्ता आयोजनाहरु छनौट गर्नुपर्ने भन्ने पालिकालाई जानकारी प्राप्त हुने गुरुङको विश्वास छ । उनले जनताको चाहना विपरितका आयोजनाहरु छनौट गर्दा स्थानीयले अपनत्व अनुभूति नगरेका कारण आयोजनाहरुको प्रभावकारीता नभएको बताए ।

जनताको चाहना बमोजीमका आयोजनाहरु छनौट गर्ने कर्तब्य स्थानीय तहको भएता पनि त्यो दायित्वबाट कतिपय अवस्थामा जनप्रतिनिधिहरु विचलित हुने गरेको धारणा राखे । जनताका प्रतिनिधि भएका कारण जनताका गुनासा, सुझाब र चाहनाहरु बुझनुपर्ने गाउँपालिकाको दायित्व भएको अध्यक्ष गुरुङको भनाई छ ।

गाउँपालिका भित्र रहेका सवै ६ वटा वडाहरुमा सार्वजनिक सुचना मार्फत सुझाब संकलनका लागि आब्हान गरिएको छ । वडा न १ बाच्छाबाट शुरु भएको उक्त अभियान बर्राचौर हुँदै आज रानीपानीमा आयोजना गरिएको छ ।

जनताका प्रतिनिधिहरुलाई सहि मार्गमा लैजानका लागि जनतासंगै दोहोरो सम्बादका कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।