२७ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा र वडा न १३ खौलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिकाले चालु आर्थिक बर्षको समिक्षा सहित वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
आइतबार कुश्मा ८ चुवा र सोमबार कुश्मा १३ खौलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरु उपर उत्तर दिदै नगरप्रमुख रामचन्द्र जोशीले जनताले दिएको सुझाबका आधारमा आगामी नीति कार्यक्रम र बजेट तय गरिने बताए । उनले जनताका असिमित आवश्यकताहरु पुरा गर्न स्थानीय सरकार सक्षम नभएको भन्दै राजश्व बृद्धि गर्ने क्षेत्र नै स्थानीय तहमा नभएको बताए । जोशीले जनअदालनको रुपमा सार्वजनिक सुनुवाईमा आएका सुझाबहरु आफ्नो लागि मार्गनिर्देशन भएको समेत बताए ।
कार्यक्रममा नगरउपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतम, शिक्षा अधिकृत विष्णप्रसाद तिवारी, स्वास्थ्य संयोजक यामप्रसाद शर्मा लगाएतले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।
कुश्माको चुवामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र केसीले सहभागीहरुको प्रश्नको जवाफ दिदै पछिल्लो समय वडामा विकासका विभिन्न आयोजनहरु शुरुवात भएको जानकारी गराए । उनले पूर्वाधार क्षेत्रमा देखिने गरी काम भइरहेको समेत बताए ।
उता, खौलामा आयोजीत कार्यक्रममा वडा अध्यक्ष तेजप्रसाद सुवेदीले आयोजनाहरुका लागि उपभोक्ता समितिमा बस्ने सदस्य नपाएकोमा गुनासो गरे । उनले सकारात्मक रुपमा विकासका आयोजनामा सहयोग गर्न बडाबासीलाई अनुरोध समेत गरे ।
चुवामा आयोजीत कार्यक्रममा वडा सचिव राधादेवी शर्मा र खौलामा आयोजीत कार्यक्रममा वडा सचिव योगकुमारी विकले वडाका बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।\
कार्यक्रमको सहजीकरण जि एण्ड जि मिडिया प्रा.लिको तर्फबाट पत्रकार गणेश गिरीले गरेका थिए ।




