१६ जेठ, पर्वत । जिल्लाको विहादी गाउँपालिकाले चालु आर्थिक बर्षको समिक्षा सहित आगामी बर्षको लागि सुझाब ग्रहण गर्न वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको तय गरेको छ । गाउँपालिका भित्रका ६ वटै वडाहरुमा पुगेर चालु बर्षको समिक्षा सहित आगामी बर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा सुझाब ग्रहण गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रम तय भएको हो ।

गाउँपालिका अध्यक्ष परविन गुरुङले जनताका सुझाब लिएर आगामी बर्षको नीति तथा कार्यक्रम तय गरिने बताए । उनले चालु बर्षमा पालिकाबाट सम्पादन भएका योजनाहरु र सेवाप्रवाहको विषयमा समेत सार्वजनिक सुनुवाई कार्यक्रममा छलफल हुने जानकारी दिए । उनले सवै वडाहरुमा वडाका जनप्रतिनिधिहरु सहितको उपस्थितीमा सुझाब संकलन गरी जनमुखी बजेट निर्माण गर्ने गाउँपालिकाले तयारी गरेको जानकारी दिए ।
चालु आर्थिक बर्षमा गाउँपालिकाबाट वडाहरुमा तय भएका आयोजनाहरुको कार्यान्वनको अवस्थाको बिषयमा समेत वडाबासीहरुले बडा कार्यालय मार्फत गाउँपालिकालाई प्रश्न सोध्न, सुझाब दिन सक्ने अध्यक्ष गुरुङको भनाई छ ।
जेठ १६ गते विहादी गाउँपालिका वडा न १ बाच्छाबाट सार्वजनिक सुनुवाई कार्यक्रमको शुभारम्भ गरिनेछ । कार्यक्रमको सहजीकरण जि एण्ड जि मिडिया प्रा.लि.को तर्फबाट पत्रकारद्धय छविलाल तिवारी र गणेश गिरीले गर्नेछन् ।

कार्यक्रममा संकलन भएका सुझाबलाई गाउँपालिकाले आफ्नो सम्पत्तिको रुपमा ग्रहण गर्ने र नागरिकमुखी नीति, कार्यक्रम र बजेट तय गर्ने गरी आफूहरु लागि पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद भुषालको भनाई छ ।
कार्यक्रम जेठ १७ गते बर्राचौर, १८ जेठमा रानीपानी र २० जेठमा उमरामपोखरामा तय गरिएको छ । यसैगरी जेठ २१ गते शालिग्राममा उक्त कार्यक्रम सम्पन्न हुनेछ भने जेठ २२ गते वहाकीमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासीले आफ्ना सुझाब सहितका प्रश्नहरु राख्न पाउने भएका छन् ।




