१८ वैशाख, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्यामा सग्लन्न २ युवाको नाम सार्वजनिक भएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो सिआइविले २ युवालाई नियन्त्रणमा लिएको जनाएको अनलाई खबरमा समाचार प्रकाशित छ ।
एता, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले अबको २४ घण्टा भित्र अभियुक्त सार्वजनिक गरिने जानकारी दिए । उनले हत्यामा संग्लन्न मानिसको पहिचान भएको र केहि घण्टा भित्र त्यसको पुष्टि हुने गरी अभियुक्त सार्वजनिक गरिने बताए ।

सिआइविका अनुसार अनुसन्धान टोलीले कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको हो । ब्यूरोका एसपी होविन्द्र बोगटीले भने ‘विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं’, बोगटीले थपे, ‘अहिलेसम्मको जाँचमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’
१९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए ।
दम्पत्ति मृत भेटिएपछि हत्या नै भएको प्रहरीको प्रारम्भिक निश्कर्ष थियो । प्रहरीले हत्याको निश्कर्ष निकाले पनि हत्यारा भने अझैसम्म पत्ता लाग्न सकेको थिएन् । हत्या भएको घटना थाहा भए लगतै प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेतको प्रयोग गरेको थियो । तालिम प्राप्त कुकुरले जंगल हुँदै बजार छिरेको लोकेशन ट्राप्प गरे पनि हत्यारा नजिक पुग्न सकेको थिएन् । हत्या भए लगतैको अनुसन्धानमा हत्यामा प्रयोग गरिएको हँसिया भने बरामद गरिएको थियो ।

हत्यामा सग्लन्नको खोजी कार्यमा कुनै कसर बाँकी नराखिने भन्दै कानून मन्त्री पदम गिरीले मृतक दम्पत्तिको परिवारसंग भेट गरी हत्यारा खोजीको आश्वासन समेत दिएका थिए । हत्याराको खोजी कार्यमय ढिलाई भए पनि संघीय सदनमा समेत यो विषयले प्रवेश पाएको थियो । जिल्ला, प्रदेश र केन्द्रिय अनुसन्धान टोलीले झण्डै १ महिनाको अनुसन्धानबाट अभियुक्त पत्ता लगाउन सफलता प्राप्त गरेको अनुसन्धानमा सग्लन्न अनुसन्धान अधिकृतहरु बताउँछन् ।
अभियुक्तको थप विवरण भने प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्वतमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।