Print

केरा खेतीबाट पिपलटारीमा बार्षिक ४० लाख रकम आम्दानी


१८ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १० मा ब्यवसायीक केरा खेती गरिएको छ । केरा खेतीबाट पिपलटारीको एउटा क्लकमा बार्षिक ४० लाख बढि रकम आम्दानी हुने गरेको छ ।

विगत १ दशक देखि केराखेती गरीरहेका कृषकहरुले पछिल्लो समय बार्षिक ४० लाखसम्मको केरा विक्री गर्ने गरेको स्थानीय कृषक बाबुराम शर्माले बताए । शर्माले गाउँमा केरा उत्पादन बढिरहेको भन्दै बजारीकणमा सहयोग गर्न स्थानीय पालिकालाई आग्रह गरे । उनले उत्पादनमुखी कार्यक्रम ल्याएर गाउँको उत्पादन बजारमा बिक्री हुने ब्यवस्था मिलाउन समेत कुश्मा नगरपालिकालाई आग्रह गरेका छन् ।

एक गाउँ एक उत्पादनको नीति लिएर पिपलटारी वडालाई केरा पकेट क्षेत्रको घोषणा गर्नुपर्ने उनको माग छ । केरा खेतीबाट मात्रै एक ब्लकमा ४० लाखको केरा बिक्री हुने गरेको भन्दै अन्य वस्तीको समेत गणना हुँदा त्यो रकम अझै धेरै हुनसक्ने उनको भनाई छ ।

सोमबार पिपलटारीमा आयोजीत सार्वजनिक सुनवाई कार्यक्रममा जनताका गुनासा सुन्न पुगेका नगर प्रमुख रामचन्द्र जोशीले एक गाउँ एक उत्पादनको अभियान नगरपालिका भित्र सञ्चालन गरिने जानकारी दिए । यस अघि कृषि ज्ञान केन्द्र मार्फत सहयोग हुँदै आएको केरा पकेट क्षेत्रका कार्यक्रमहरुमा नगरपालिकाले समेत साझेदारी गरी प्राविधिक सहयोग गर्ने नगर प्रमुख जोशीले बताए ।

जिल्लाको कुश्मा १० पिपलटारीमा झण्डै ५० जना भन्दा बढि कृषकहरुले ब्यवसायीक रुपमा केरा खेती गर्दै आइरहेका छन् । वडा अध्यक्ष रामचन्द्र सुवेदीले भारतको बजारलाई प्रतिस्पर्धा गर्न स्थानीय केरा खेतीले सक्ने भन्दै यसको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याए ।

नगर उपप्रमुख स्वस्थानी रिजालले कृषकहरुले गर्ने गरेको खेतीलाई प्रोत्साहन गर्ने नगरपालिकाको घोषित नीति रहेको उल्लेख गरिन् । नगरपालिकाले ब्यवसायीक केरा खेती गरीरहेका कृषकहरुलाई केराबाट बन्ने परिकारको उत्पादन सम्बन्धि तालिम समेत दिइरहेको उनको भनाई छ ।

पिपलटारी र यस आसपासको क्षेत्रमा केरा खेतीसंगै कागती खेतीलाई समेत विस्तार गरिएको छ । पछिल्ला दिनहरुमा कृषकहरुले केरा खेतीसंगै कागती खेती पनि गरीरहेका छन् । कृषी उपजको बजार अभाव नभए पनि भारतबाट आउने कतिपय उत्पादनसंग स्थानीयले प्रतिस्पर्धा गर्न नसकिरहेको बेलामा यहाँ उत्पादन भएका केराले भने भारतीय बजारलाई समेत प्रतिस्पर्धा गर्न सक्ने भएका छन् ।