Print

झाप्रेबगरमा सडक र पुल : स्थानीयको सपना र आशा

१७ वैशाख, पर्वत । जिल्लाको कुश्मा ९ मा हुने औपचारिक कार्यक्रममा मुख्य एजेण्डा हुन्छ, मोटरेवल पुल । कुश्मा ९ कटुवाचौपारीका स्थानीयको ठूलो माग पनि यहि हो । निर्वाचित जनप्रतिनिधिलाई धेरै पटक घचघचाए । सरकारी अड्डाहरु धेरै पटक धाए । माग राख्न पाएको बेलामा मोटरेवल पुल छुटाउँदैनन् । तर, उनीहरुको माग अझै पुरा भएको छैन् ।

कुश्मा र ज्ञादीलाई मोदीखोलाले विभक्त गरेको छ । खोलाको झण्डै ४ सय मिटर गहिरो खोँचमा डेढ दशक अघि झोलुंग पुल बनेको छ । झोलुंगे पुलले पैदल यात्रा सहज बनाए पनि सदरमुकाम आवत जावत गर्ने मोटर यात्रा भने अझै महंगो छ । ३ किलोमिटर मात्र दुरी पार गरेर बजार आउन सकिने सडकमा पुल नबन्दा कटुवाचौपारीबासी झण्डै तेब्बर भन्दा बढि लामो सडक प्रयोग गर्न बाध्य छन् ।

आइतबार कुश्मा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले मुख्य यहि बिषय उठाए । झाप्रेबगरमा पुल किन बनेन ? झोप्रेबगरमा पुल बनाउनका लागि सरकारी निकायले यस अघि पनि सर्भेको काम सकेको छ । डिजाइन स्टिमेटको काम सकेर विभागमा पुलको फाइल थन्किएको छ । तर, पुल निर्माणको काम अझै शुरु भएको छैन् ।

स्थानीय रामचन्द्र लामिछानेले माटो परिक्षण भए पनि पुल अझै नबनेको बताए । सडक निर्माणको काम समेत अलपत्र परेको भन्दै सडक र पुल निर्माण गर्न उनले माग गरे ।

वडा अध्यक्ष राम शर्मा लामिछानेले पटक पटक सरकारी अडडाहरु धाउँदा पनि पुल बनाउन अझै नसकिएको स्विकार गरे । स्थानीय हरीशचन्द्र अधिकारीले पुल निर्माणको काम तत्काल अघि बढाउन माग गरे । सडक र पुल बन्दा कुश्मा बजार र ज्ञादी क्षेत्रका कटुवाचौपारी, पिपलटारी, ठुलिपोखरी, खौला, शंकरपोखरी र थापाठाना लगाएतका वडाहरुलाई सदरमुकामसंग जोड्ने छोटो दुरीको सडक झाप्रेबगर सडक हो ।

सडक विभागले यस अघि पटक पटक बार्षिक पुस्तिकामा पुल निर्माणको काम राखे पनि पुल निर्माणको लागि बजेट भने सुनिश्चित अझै हुन सकिरहेको छैन् । ५ बर्ष अघि माटो परिक्षणको काम सकिएको थियो । तर, अहिलेसम्म पुल निर्माणले गति लिएको छैन् ।