२० माघ, पर्वत । नेकपा एमाले पर्वतले दशौं जिल्ला अधिवेशनको मिति तय गरेसंगै नगर तथा गाउँपालिका स्तरीय वैठकहरु बस्न थालेका छन् । आगामी चैत २७ गते दशौं जिल्ला अधिवेशन गर्ने तयारी गरेको एमालेका पालिका स्तरीय वैठकहरु शुरु भएका छन् ।
जिल्ला कमिटिको निर्णय अनुसार सांगठनिक गतिविधिहरु अन्तर्गत अधिवेशनको आवश्यक तयारीका लागि पालिका स्तरीय वैठकहरुको शुरुवात भएको जिल्ला कमिटि सचिव गोविन्द पहाडीले जानकारी दिए ।
एमालेको शुक्रबार दुई पालिकाहरुको वैठक सम्पन्न भएको छ । फलेवास नगरपालिका र विहादी गाउँपालिकाको पालिका कमिटिको वैठक सकिएको छ । वैठकमा आगामी जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सदस्यता नविकरण तथा पालिका स्तरीय अन्य तयारीका विषयमा छलफल भएको एमाले श्रोतको भनाई छ ।
वैठकमा एमाले केन्द्रिय सदस्य कल्पना चापागाई, जिल्ला अध्यक्ष राजु पौडेल तथा प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यहरु र जिल्ला कमिटिका पदाधिकारीहरुले वैठकमा सम्बोधन गरेका थिए । जिल्ला अधिवेशनको घोषणा गरेसंगै नेतृत्व हत्याउनका लागि एमाले नेताहरुको यति बेला कार्यकर्ता भेटघाट अभियानमा ब्यस्त देखिएका छन् ।




