१६ माघ, पर्वत । गाउँसम्म पुग्ने सडकको दुरावस्थाले गण्डकी प्रदेशकै सबैभन्दा स्वादिलो सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएको छ । एउटै गाउँमा झण्डै ११ करोडका सुन्तला उत्पादन भए पनि बजारमा ढुवानी गर्न समस्या परेको हो । बाँसखर्क जोड्ने वारिबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको कारोबार दैनिकले खबर छापेको छ ।
ठूला सवारीसाधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानीमा समस्या भएको कृषक जगतबहादुर खत्रीले जानकारी दिए । उनले भने, ‘साना खालका बोलेरो जीपमा थोरै थोरै सुन्तला टिपेर बेनी–मालढुंगा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ । यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।’ अहिले बाँसखर्कसम्म पुग्न वारिबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ ।
तर जीर्ण सडकका कारण ठूला ट्रक र टिप्पर गाउँसम्म जान सक्दैनन् । सानो बोलेरो जीपमात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएको कृषक खत्रीले गुनासो गरे । ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाएमा आफूहरूलाई सहज हुने सुन्तला खरिदका लागि बगानमा आएका कालिमाटीका एक व्यवसायीले भने, ‘यति ठूलो सुन्तला बगानको सहायताका लागि राज्यलेसमेत पूर्वाधार निर्माण गरिदिनुपर्दछ ।’
१० किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको उनीहरूले बताएका छन् । जलजला गाउँपालिका–२ वारिबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको भए पनि बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन नसकेको हो । यसअघि वि.सं २०७७ सालमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना स्वीकृत गरेर अर्थ मन्त्रालयमा पठाएको भए पनि बजेट विनियोजन हुन नसकेको हो ।
जम्मा १० किलोमिटर लामो यो सडकको कुल लागत २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रीमण्डलले सात करोड विनियोजन गरे पनि तत्काल सरकार परिवर्तन भएकाले विनियोजित बजेट स्वीकृत भएर नआएका कारण काम हुन नसकेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । भएपछि झण्डै ७ किलोमिटर कालोपत्रे हुने भएको छ ।
तत्कालीन अवस्थामा राष्ट्रिय पूननिर्माण प्राधिकरण भूकम्प आपतकालिन सहायता आयोजनाले उक्त सडक कालोपत्रे गर्ने प्रकृया अगाडी बढाएको थियो । वर्षेनी फल्ने करोडौंका सुन्तला सडककै कारण ढुवानीमा समस्या भएको वडाध्यक्ष जकबहादुर रोकाले जानकारी दिए । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवर्द्धन गर्न सबैभन्दा ठूलो भूमिका खेल्ने रोकाले बताए ।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आर्थिक वर्षमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए । उनका अनुसार मिलनचोक–माझफाँट–बाँसखर्क सडकका लागि एक करोड विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्रे हुने जानकारी दिए ।




