१६ माघ, पर्वत । मोदी गाउँपालिकाको प्रशासकीय भवनको औपचारिक उद्घाटन भएको छ । २०७७ साल जेठदेखि भवन निर्माण शुरु भएको भवनको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गरेका हुन् । तीन करोड ४९ लाख रुपैयाको सम्झौतामा फेवा कन्ट्रक्सन प्रालि पोखराले निर्माण गरेको भवनमा १४ वटा कोठा रहेका छन् । यस अघि भाडाको घरमा संचालन हुँदै आएको पालिकाले भवन निर्माणसँगै सवै सेवाहरु आफ्नै कार्यालयवाट दिन थालेको छ । भवन बनेपछि मासिक रुपमा तीर्नुपर्ने भाडा बचत हुनुका साथै नागरिकहरुलाई एकीकृत रुपमा सेवा प्रवाह गर्दा सहज भएको पालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन ।
पर्वतको मोदी गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकिय भवनको सोमवार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले नागरिकलाई गाउँमै सिंहदरवारको अधिकार आएको अनुभूति हुने खालका कार्यक्रम ल्याउन आग्रह गरे । संघीयता कार्यान्वयनपछि गाउँमै सिंहदरवार आयो भन्ने तर दरवार मात्र बन्ने कार्यक्रम र सेवा प्रवाह सहज नभएको भन्दै अब पुरानो पद्धतिले समृद्धि हासिल हुन नसक्ने बताए । भवन बनेर मात्र पालिकाको विकास नहुने भन्दै नागरिकलाई सहज र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्न समेत उनको आग्रह थियो ।
नागरिकलाई प्रत्यक्ष रुपमा लाभ मिल्ने खालका कार्यक्रम स्थानीय तहहरुले बनाउनुपर्दछ भन्दै रोजगारमुलुक र स्वरोजगारमुखि कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ । कार्यक्रममा संविधानसभा सदस्य कल्पना चापागाई, गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, मित्रलाल बस्याल, रेखा गुरुङ लगायतले स्थानीय तहले जनतामा दिने शुसासनको विषयमा आफ्नो धारणा राखेका थिए । त्यसैगरी पुर्व पालिका अध्यक्ष प्रेम पौडेल, वडा अध्यक्ष विकास तिमिल्सिना, भवन निर्माण समितिका सचिब देवराज पुरी लगायतले भवन निर्माणको विषयमा आफ्नो धारणा राखेका थिए ।
पालिका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष विमल लामिछाने र संचालन शिक्षा अधिकृत दिनेश शर्माले गरेका थिए । सो अवसरमा भवन निर्माणमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सहयोग समेत गरिएको थियो ।




