२२ पौष, पर्वत । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले निजामति कर्मचारीले प्राप्त गरीरहेको ट्रेड युनिएनको अधिकार कसैले पनि खोस्न नसक्ने बताएका छन् । निजामति कर्मचारी संगठनले पर्वतको भुकदेउरालीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद गिरीले कर्मचारीको ट्रेड यूनिएको अधिकार अव कसैले पनि खोस्न नसक्ने बताएका हुन् ।
स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रमा सुधारका धेरै कुराहरु बाँकी रहे पनि अधिकार खोस्न काममा कसैले गर्न नसक्ने गिरीले बताए । उनले स्थायी सरकारको रुपमा सरकारलाई कर्मचारीले निरन्तर सहयोग गरीरहेको भन्दै कर्मचारी प्रशासनमा सरुवा र बढुवाका अधिकांश प्रावधानहरु भने परिर्वतन हुनुपर्ने धारणा राखे । गिरीले सरुवा र बढुवाका कारण धेरै कर्मचारीहरुले दुःख पाइरहेको भन्दै आगामी ऐनमा ति सवै कुराहरु परिर्वतन हुनुपर्ने विचार राखे ।
निजामति कर्मचारी प्रशासनका कानून बनाउँदा सर्वपक्षिय छलफल आवश्यक रहेको भन्दै गिरीले सरकारले भने ऐन संसदनमा टेवल गर्न आनाकानी गरेको दावी गरे । उनले सरकारले ल्याउने ऐन कर्मचारी मैत्री बनाउने कुरामा एमाले तयार रहे पनि कर्मचारीहरुले राखेका कतिपय मागहरु भने पुरा गर्न नसकिने खालका रहेको गिरीको भनाई थियो ।
निजामति कर्मचारी संगठन जिल्ला कार्य समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गिरीले विदेशका समेत उदाहरण दिएर कर्मचारी प्रशासन सुधारका नयाँ आयामहरुको विषयमा प्रशिक्षण दिएका थिए ।




