२६ मंसिर, पर्वत । कालीगण्डकी र सहायक नदिहरुमा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर अन्तर्गत कुश्मा नयाँ बुटबल खण्ड सञ्चालनमा आएको छ ।
जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको हो ।
कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूणर् गाउँपालिका(३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नयाँ बुटवल सबस्टेसनसम्मको करिब १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् भार बोक्न सक्ने क्षमता रहेको छ ।
प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको थियो । पहिलो खण्डमानै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेका छन् । दुवै सबस्टेसनमा १००/१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु राखिएका छन् ।
कुश्मा नयाँ बुटवल खण्डमा २३६ वटा टावरहरु निर्माण गरिएको छ । सुनवल नगरपालिका १३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरु निर्माण गरिएको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिए ।
कुश्मा नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाको अनुमानित लागत करिब रु ११ अर्ब रुपैयाँ छ ।




