३ मंसीर, पर्वत । घुम्ने सिजन शुरु भएसंगै आन्तरीक र बाह्य पर्यटकहरुले पर्यटकीय स्थलहरु भरीभराउ हुँदा पर्वतको हम्पाल लेक भने सुनसान जस्तै छ । पर्वत जिल्लाको सवैभन्दा उचाईमा रहेको हम्पाल पर्यटकी सम्भावनायुक्त स्थल हो । जलजला क्षेत्रमा पर्ने उक्त लेकलाई कालाञ्जर पर्वतको नामबाट पनि चिनिन्छ । अग्लो स्थानमा रहेको उक्त लेक धार्मिक र पर्यावरणीय हिसावले निकै महत्वपूर्ण मानिन्छ ।
यो क्षेत्र हिन्दु धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको पाइन्छ । हनुमानले यही क्षेत्रबाट जडिुवटी लगेर औषधी उपचारमा प्रयोग गरेको धार्मीक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ ।
विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास हुन अझै सकेको छैन ।
कालाञ्जर पर्वतमा परापूर्व कालमा त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।
हम्पाल लेकको पहाडको टाकुरामा समथर क्षेत्र, खोला र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । हिउँदमा हिंमपात र वर्षतमा हरियालीसंगै बसन्तको अन्तिमसम्म पनि सेतो र रातो लालीगुराँसले हम्पाल क्षेत्र शुसज्जित हुने गरेको छ ।
जिल्लाको सबैभन्दा उचाईमा रहेको हम्पाल क्षेत्र समुद्री सतहबाट ३ हजार ३ सय ९ मिटरको उचाईमा रहेको छ । पर्वतका शालिजा, लेकफाँट, धाईरिङ, बनौ र क्याङ क्षेत्रमा अवस्थित हम्पाल खासगरी सयौं थरीका जडिबुटी, लोपोन्मुख रुखहरु, वन्यजन्तु रहेका छन् । लालीगुँरासको पहाडका नामले पनि परिचित यो क्षेत्रमा हम्पाल डाँडा, जलजला, फलेक खर्क, सिर्पु चर्चित नामहरु हुन् । यहाँबाट सूर्योदय र सूर्यास्तको सहज रूपमा अवलोकन गर्न सकिन्छ । हम्पाल लेकबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ लगायतका जिल्लाको अवलोकन गर्न सकिन्छ ।
हम्पाललमा पर्यटकीय सम्भावनाको खोजी गर्दै यस स्थानमा ताल निर्माण समेतको योजना गण्डकी प्रदेश सरकारले अघि सारेको थियो । त्यो योजना अहिलेसम्म पनि अपुरो छ । पर्यटकीय सम्भावनाको खोजी गर्दै यस क्षेत्रको थप प्रचार प्रसार गर्न सरकारी निकायहरुले ततारुकता देखाएको भेटिदैन ।




