Print

कुश्मामा कति पर्यटक भित्रिए सरकारी तथ्यांक छैन


४ मंसीर, पर्वत ।
घुमघामको सिजन शुरुभएसंगै कुश्मामा दैनिक सयौ पर्यटक भित्रिएका छन् । कुश्मामा भित्रिएका पर्यटकको यकिन तथ्यांक भने सरकारी निकायसंग छैन । दैनिक शैक्षिक भ्रमण र अन्य भ्रमण दलका सयौ आन्तरीक पर्यटकहरु भित्रिए पनि त्यो संख्या कति हो यकिन भन्न सकिदैन । जिल्लाको सदरमुकाम भएर पनि यहाँका सरकारी निकायहरुले आगन्तुकहरुको तथ्यांक राख्न सकेका छैनन ।

दैनिक रुपमा बन्जी, जीपलाईन र झोलुंगेपुलहरुको अवलोकन गर्न कयौ पर्यटकहरु आइरहेका छन् । उनीहरुको संख्या कति छ त्यो यकिन छैन ।

कुश्मा बजार भित्रने र बाहिरिनेको तथ्यांक नराख्दा पर्यटकको यकिन संख्या भन्न नसकिएको हो । साहसिक खेल सञ्चालन गरीरहेको द क्लिप प्रा.लिले आफ्ना ग्राहकहरुको संख्या आन्तरीक रुपमा भने राख्ने गरेको छ । बन्जी पुल तर्नका लागि शुल्क लाग्ने भएका कारण कम्पनीले आफ्नो विवरण राखेता पनि पुल नतर्ने र पर्यटकको संख्या उक्त कम्पनीसंग पनि छैन ।

कुश्मा नगरपालिकाले पर्यटकहरुकोसंग कुनै पनि शुल्क लिने गरेको छैन । बजार नाकाहरुमा सुरक्षा जाँच समेत छैन ।
पछिल्लो समय साहसिक खेलहरुको हव बन्दै गएको कुश्मालाई बागलुङको बलेवा क्षेत्रले पनि साथ दिईरहेको छ । क्लिप प्रा.लि.संगै हार्नेस जीपलाईन प्रालिले पनि साहसिक खेलहरु सञ्चालन गरीरहेको छ । यी सवै पर्यटकीय स्थलहरुमा आउने पर्यटकको संख्या उल्लेख्य भए पनि पर्यटकबाट आम्दानी गर्न सरकारी निकायले सकिरहेको छैन । अग्ला पुलहरु र कालीगण्डकी नदीमा ¥याफटिङ गर्ने पर्यटकको संख्या समेत उल्लेख्य हुने गरेको छ ।