Print

ट्रेकिङ रुटहरुमा स्वदेशी पर्यटक बढे


२ मंसीर, पर्वत । विदेशी पर्यटकले खचाखच हुने नयाँपुल बजार अहिले स्वदेशी पर्यटकले खचाखच छन् । विदेशी पर्यटककै लागि लक्षित गरेर खोलिएका विरेठाँटी बजारका होटलहरुमा अचेल नेपाली पर्यटकहरुले भरिन्छन् । बर्षात सकिए लगतै नेपालमा पदयात्रा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि हुन्छ ।

कोभिड १९ पूर्व पश्चिम नेपालकै चर्चित पदमार्ग नयाँपुल घोडेपानी पदमार्गमा विदेशी पर्यटकहरुको संख्या उल्लेख्य थियो । कोभिडले सुस्ताएको पर्यटन बजार अहिले स्वदेशी पर्यटकहरुले उकासेको छ । पर्यटकीय क्षेत्रहरुको अवलोकन र पदमार्गमा जाने स्वदेशी पर्यटकहरुको संख्यामा अहिले उल्लेख्य बृद्धि भएको छ । पदमार्गहरुमा भेटिने विदेशी पर्यटकहरुको ठाउँमा अहिले स्वदेशी पर्यटकहरु भेटिन्छन् ।

कास्की जिल्लाको नयाँपुलबाट शुरु हुने पदयात्रा म्याग्दीको घोडेपानीसम्म पुग्छ । २०७५ सालमा ६५ हजार पर्यटक भित्रिएको घोडेपानी क्षेत्रमा अहिले त्यो संख्या भने घटेको छ । विदेशी पर्यटक घटेसंगै संख्यामा आएको भारी गिरावटलाई अहिले स्वदेशी पर्यटकहरुले राहत दिलाएका छन् ।

कास्कीको वीरेठाँटी, शिख र छोमरोङ चेकपोष्टमा घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा पर्यटकहरु हिडेन गर्दछन् । कतिपय पदयात्रीहरु वीरेठाँटीबाट भित्रिएर छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी) पुग्ने गरेका छन् ।

छोमरोङ हँुदै एबिसी पदयात्रामा जाने पर्यटकको संख्या गतबर्षहरुको तुलनामा अहिले बृद्धि भएको छ । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति एक हजार र अन्य मुलुकका पर्यटकले प्रतिव्यक्ति तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । नेपालीहरुका लागि भने शुल्क लाग्दैन् । विदेशी पर्यटकले धानेको पर्यटन बजार अहिले नेपाली पर्यटक तर्फ आकर्षित भएको छ ।

यसै वीच राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना समेत शुक्रबार देखि पदयात्रामा निस्किएका छन् । नयाँ पदमार्गको विकास गर्न भन्दै तिमिल्सीना घान्द्रुक–घोरेपानी–मोहरेडाँडा–जलजला–भूकको पदमार्गमा निस्किएको तिमिल्सीनाका प्रेस विज्ञ दुर्गाप्रसाद शर्माले उल्लेख गरेका छन् ।

नयाँ पदमार्गको प्रचार गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना घान्द्रुक–घोरेपानी–मोहरेडाँडा–जलजला–भूकको पदमार्गमा

पछिल्लो समय पर्वतको भुकदेउरालीलाई समेत पदमार्गमा जोड्नका लागि अध्यक्ष तिमिल्सीनाको अगुवाईमा भुकदेउरालीको भवरकोट क्षेत्रमा पदमार्ग निर्माण देखि भौतिक संरचनाहरुको विकास गरिएको छ ।