१४ असार, पर्वत । आगामी आर्थिक बर्षका लागि बजेट नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जिल्लाका ३ पालिकाहरुमा विवाद देखिएको छ । कानूनत असार १० गते भित्र सम्पन्न गर्नुपर्ने नगर सभा राजनैतिक उल्झनका कारण ३ पालिकाहरुमा सम्पन्न हुन सकेको छैन् । जिल्लाको ठूलो र पुरानो कुश्मा नगरपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा नगर सभा सम्पन्न हुन नसकेको हो । यस अघि मोदी गाउँपालिका, विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिकाले भने नगर सभा सम्पन्न गरी सकेका छन् ।
जिल्लाको मोदी गाउँपालिकाले गाउँ सभामा ५७ करोड ९५ लाख २० हजार बजेट प्रस्तुत गरेको छ । गाउँ सभाले छलफल सहित बजेट पारित गर्ने गरी छलफलको लागि मिति तोकिएको छ । गाउँ सभामा प्रस्तुत गर्ने बजेट उपर मोदी गाउँपालिकामा गाउँ सभा सदस्यहरुले आफ्नो राय राख्न पाउने भएका छन् । मोदीले असार मसान्तभित्र बजेट पारित गर्ने गरी गाउँ सभा सम्पन्न गरेको छ ।
उता, विहादी गाउँपालिकाले भने कुल ४४ करोड ८ लाख ४१ हजारको बजेट सार्वजनिक गरेको छ । विहादी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेट गाउँ सभाले पारित गरिसकेको छ ।
महाशिला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४३ करोड ५४ लाख २५ हजार ७ सय रुपैंया विनियोजन गरेको छ । गाउँ सभाले उक्त बजेट पारित गरेको छ ।
पैयू गाउँपालिकाले भने जिल्लामा सवै भन्दा पहिला बजेट सार्वजनिक गरेको थियो । उक्त गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि कुल ४१ करोड ७२ लाख ८२ हजार अनुमानित बजेट पारित गरेको छ ।
जिल्लाको सवैभन्दा पुरानो र ठूलो नगरपालिका कुश्मामा भने नगर सभा बस्न सकेको छैन् । असार १० गते मध्यरातसम्म पनि जनप्रतिनिधिहरुका वीचमा समझदारी नजुट्दा वैठक बस्न नसकेको हो । कुश्मा नगरपालिकामा श्रोत सुनिश्चतता तथा अनुमान सम्बन्धि वैठक नगरप्रमुखले आब्हान नगरेको बहुमत सदस्यहरुले आरोप लगाएका छन् । जनप्रतिनिधिहरु वीच सहमति नजुट्दा नगरउपप्रमुख सहित बहुमत सदस्यहरुले नगरपालिकामा नै पत्रकार सम्मेलन गरेर आफ्ना असहमतिका बुँदाहरु प्रस्तुत गरेका छन् । नगरउपप्रमुख स्वस्थानी रिजाल, वडाअध्यक्षहरु इश्वर गिरी, तेजप्रसाद पाध्या, तेजप्रसाद चापागाई, बाबुराम पौडेल र रामचन्द्र सुवेदी सहितका वडाअध्यक्षहरुले पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले नगरप्रमुखले नगरसभा सम्बन्धि प्रक्रियाहरु नै पुरा नभएको बताएका छन् । उता, केहि वडाअध्यक्षहरुले भने नगरसभा शुरु भएको तर गणपुरक नपुगेको उपस्थितीको माइन्युड सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । विवादका कारण नगरसभा अनिर्णित बनेको छ ।
फलेवास नगरपालिकामा भने ग्रिन फलेवास क्लिन फलेवास कार्यक्रमलाई निरन्तरता दिने वा कार्यक्रमलाई परिमार्जन गर्ने भन्ने विषयको विवाद हुँदा नगर सभा बस्न सकेको छैन् । नगरप्रमुखले समन्वयकारी भूमिका खेल्न नसकेको यहाँ पनि बहुमत सदस्यहरुले आरोप लगाएका छन् । एकलौटी ढङगले नगरपालिका सञ्चालन खोजेको आरोप पछि नगरसभा प्रभावित बनेको छ ।
जलजला गाउँपालिकामा बहुमत सदस्यहरुले गाउँ सभामा सहभागीता नजनाएपछि पहिलो पटक आब्हान गरिएको गाउँ सभा स्थगीत भएको छ । बजेट बाँडफाँड तथा अधिकार प्रत्योजनका विषयमा भएको विवाद साम्य नहुँदा जलजला गाउँपालिकामा पनि गाउँ सभा बस्न नसकेको हो ।




